• ९ जेठ २०८२, शुक्रबार

अखाद्य वस्तु बिक्री गर्ने पाँच कम्पनीविरुद्ध मुद्दा दर्ता

blog

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज । तस्बिर: गाेरखापत्र

नेपालगन्ज, जेठ ७ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने बजारमा रहेका मापदण्ड विपरीतका पाँच वटा सेवामूलक फर्म तथा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । 

ती फर्म तथा कम्पनीमा स्वास्थ्यलाई हानी पुर्‍याउने काम गरिएको भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चार वटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताउनुभयो । 

उहाँका अनुसार नेपालगन्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर इन्ड्रष्टिज, वाइ के ड्रिङ्किङ वाटर उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेल नेपालगन्जविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बिरयानी, शोर्मा र कबाबमा बाह्य सिन्थेटिक रङ्ग प्रयोग गरेको र होटेलको किचेनमा फोहोर गरेको कसुरमा नेपालगन्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले बताउनुभयो । अन्य फर्म विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । 

बिस्मिल्लाह होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयका प्रतिनिधि सहित गएको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो । 

अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटेल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटेल भनी दर्ता भएको उक्त होटेलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रङ्गको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको सूचना अधिकारी लामिछानेले बताउनुभयो । सो होटेललाई ५० हजार रुपियाँ जरिवाना तथा कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य बजार अनुगमन ४३ वटा, होटेल, रेस्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चार वटा गरेको जनाएको छ ।

सो कार्यालयले वैशाखसम्म एक हजार ९४२ वटा खाद्य नमुना विश्लेषण, ९७ वटा दाना नमुना विश्लेषण, २०९ वटा तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर धेरैलाई जरिवाना गरेको छ भने २१ लाख ६९ हजार ३७३ रुपियाँ राजस्व सङ्कलन समेत गरेको जनाएको छ । 

Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।