भैरव अर्यालको प्रतिमा अनावरण
काठमाडौं, वैशाख १० गते । साहित्यकार भैरव अर्यालको प्रतिमा अर्यालको थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा रहेको अर्याल गाउँमा साहित्यकार÷पत्रकार रोचक घिमिरेले शनिवार उहाँको प्रतिमा अनावरण गर्नुभएको हो । भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहनुभएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनुभएको घिमिरेले बताउनुभयो । साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो ।स्थानीय पुण्यप्रसाद दाहालले अर्यालको प्रतिमालाई उहाँकै पुख्र्यौली थाकथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो । तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो ।समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका ज्येष्ठ सुपुत्र प्रा।डा। दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
सांसद शाहीको ‘छाउगोठदेखि संसद्सम्म’
हुुम्ला जिल्लाको सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।
सन्देशमूलक सिर्जनाका कलाकार सविता
लामो कपालमा परेको लट्टा फुटाउने, छिरलिएको कपाललाई सर्लक्क पार्ने गुण काँइयोमा मात्रै हुन्छ । काँइयोले कोरेर कपाललाई अनेकप्रकारको डिजाइनमा बाट्न, जुरो पार्न तथा छोड्न सकिन्छ, जसले व्यक्तिको सौन्दर्यमा निखार आउनुको साथै अरूभन्दा भिन्न देखाउन सकिने माध्यम पनि बन्छ ।
सौन्दर्यका लागि प्रविधि प्रयोग
युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ । राम्रो बन्न सौन्दर्यसामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउनेमात्र होइन, सधैँ जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन्
नाटकमा नहारेको एक प्रोटागोनिस्ट
सुकृत नेपाल काठमाडौँ, वैशाख ८ गते । विमल सुवेदी नेसनल स्कुल अफ ड्रामा (एनएसडी) का उत्पादन हुन् । उनीभन्दा अघि सुनील पोखरेल र अनुप बरालले एनएसडीबाट दीक्षित हुने मौका पाएका थिए । थिएटर भिलेजसँग आबद्ध उनी अभिनय र निर्देशनलगायत सेट डिजाइनमा पनि पारङ्गत छन् । उनले निर्देशन गरेका नाटकहरू यार्मा, मालिनी, ह्याम्लेट, सान्दाजुको महाभारत, मकैको अर्को खेती र साबिति उल्लेख्य छन् । परम्परागतभन्दा नाटकमा भिजुअल मिडियमलाई खोज्न रुचाउँछन् । उनका नाटकहरूमा कथासँगै भिजुअल पोयट्री पनि भेटिन्छ । उनकै डिजाइन र निर्देशनमा यही हप्तादेखि नारायण वाग्लेको ‘पल्पसा क्याफे’ राजधानीस्थित मण्डला थिएटरमा वैशाख ९ देखि मञ्चन हुँदैछ । प्रस्तुत छ उनीसँगको सङ्क्षिप्त कुराकानीःकस्तो हुँदैछ पल्पसा क्याफेको तयारी ?रिहर्सलको अन्तिम चरणमा छौँ । अन्तिम चरणका कामहरू द्रुत गतिमा भइरहेको छ । चुनावको चहलपहल चलिरहेको छ र हाम्रो नाटक पनि राजनीतिक विषयवस्तुमा आधारित छ । हामीले यसलाई दर्शकसँग कनेक्ट गराउने विभिन्न एलिमेन्ट खोजेका छौँ । पल्पसा क्याफे नै रोज्नुको कारण ?केही वर्षअघि पोखरामा एउटा प्ले मेकिङ वर्कसप भएको थियो । त्यसमा द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकहरूको विषयमा नाटक गर्ने तय गरियो । मेरो भूमिका सहजकर्ताको थियो । नाटक बनाउने क्रममा आफन्त पर्खिरहेका परिवारका सदस्यहरूसँग प्रत्यक्ष कुरा पनि भएको थियो । मैले प्रत्यक्ष रूपमा भोगेको र देखेको द्वन्द्वको त्यो फरक पाटो थियो । द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि नसुल्झिएको यथार्थ थियो । त्यसैले यो नाटक गर्ने बीज त्यतिबेलै रोपिएको हो । एउटा पुस्तकलाई नाटकमा उतार्न कति गाह्रो हुँदो रहेछ ?सजिलो र गाह्रो दुवै छ । सजिलो किन भने कथा खोजिरहनु पर्दैन । पात्र खोजिरहनु पर्दैन । पृष्ठभूमि, भाव, केन्द्रीय विषयवस्तु सबै उपन्यासमा हुन्छ । तर गाह्रो ती सबै कुरालाई विश्वासयोग्य र इमानदार रूपमा मञ्चमा देखाउँदा अनेक चुनौती आइसक्छन् । अनि चर्चित किताब भएकाले पात्रहरू पाठकको दिमागमा बसिसकेका हुन्छन्, त्यसले पनि एउटा ठूलो जिम्मेवारी बोध गराइरहन्छ । छापिएका पुस्तकका नाटक बन्नु नयाँ कथा नपाएर हो ?मलाई यो प्रश्न यसरी सोधिनुपर्छ भन्ने नै लाग्दैन । किनभने नाटक साहित्यको एक ठूलो हिस्सा हो । साहित्य रूपान्तरणका लागि नाटक हरेक कालखण्डमा उत्तिकै महìवपूर्ण माध्यम हो । यसैले पुस्तक नाटकमा आउनु आफैँमा सुखद कुरा हो । विश्वको रङ्गमञ्च र साहित्यिक इतिहासलाई हेर्ने हो भने यो बहसको विषय नै हैन । अस्कर अवार्डमा पनि बेस्ट अडप्टेड स्क्रिनप्ले भन्ने छुट्टै विधा छ । बरु पुस्तकहरू नाटक वा चलचित्र रूपान्तरित भएर फरक विधामा जाने कुरा स्वाभाविक किन लागिरहेको छैनन् र धेरै काम त्यसरी किन भइरहेका छैनन् भन्ने प्रश्न चाहिँ महìवपूर्ण प्रश्न हो । पल्पसा क्याफे पढिसकेकाले नाटक हेर्नु कत्तिको सान्दर्भिक होला ?पाठकहरूको आआफ्नै बुझाइ हुन्छ । हाम्रो आफ्नै छ, हामीले यसलाई नयाँ तरिकाले बुझ्ने र खोज्ने प्रयत्न गरेका छौँ । नाटक हेर्ने नियमित दर्शकको लागि त नाटक किन हेर्ने भनेर प्रश्न सोध्नु नै पनि उपयुक्त हुँदैन । विशेषतः यो नाटक किन हेर्ने भनेर भन्नै पर्दा नेपालको साहित्य र राजनीतिलाई नाटकको माध्यमबाट एकै ठाउँ हेर्न चाहनेलाई यो उपयुक्त अवसर हुनेछ । तपाईंहरूको थिएटर भिलेजले आफ्नै स्पेस कहिलेसम्म पाउला ?जग्गाकै झमेलाहरूले गर्दा अड्किरहेको हो । धेरैले धेरै वचन दिए तर ती पूरा भएनन् । नेपालको लगभग हरेक क्षेत्र खराब राजनीति र दलालहरूबाट भरिएको छ । त्यसमा कलालाई सधैँभरि अप्ठ्यारो नै छ किनभने यसको प्रभाव तत्कालै देखिँदैन । कसैले यसलाई सहयोग गर्दा प्रत्यक्ष फाइदा पनि भेट्दैनन् । यसले त उल्टै बलियो प्रश्नहरू गर्छ । नेपालका धेरै सरकारी संस्थालाई त प्रश्न पनि मन पर्दैन । थिएटरका लागि ठाउँ खोज्दा अनुभव चाहिँ कस्तो रह्यो ? मैले यो जग्गाको प्रक्रियामा जति लामो यात्रा गरेँ त्यसले नेपाली व्यवस्थाको धेरै चरित्रहरूसँग साक्षात्कार गर्ने मौका पाएँ । मैले लगभग २०/२५ वटा देशमा काम गरेँ । नीति र सरकारी दुवै निकायहरूसँग नजिक भएर काम गरेँ । त्यहाँ उनीहरूको देशको पहिचान भनेको कला संस्कृतिमा नै आधारित रहेर निर्धारित भएको हुन्छ । धेरै देशहरूमा थिएटरका लागि भनेर बजेटकै पनि व्यवस्था गरिएको हुन्छ । हामीले त बजेट पनि मागेका हैनौँ । सरकारसँग थोरै सहजीकरण मागेका थियौँ । व्यक्तिगत रूपमा मलाई धेरै देशहरूबाट थिएटर गर्न मौका आएको छ । त्यहाँ गएर काम गर्दा मलाई जग्गा दिन्छु भनेका छन्, बोलाएका छन् । आफ्नै देशमा भने अवस्था प्रतिकूल छ । तर मैले अझै हिम्मत हारेको छैन । म अनेक बाधा सहेर यहाँ नै केही गर्न चाहन्छु ताकि म जस्तो अर्को व्यक्तिले मेरो जस्तो तीतो यात्रा गर्नु नपरोस् ।
‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र
मित्र भण्डारी काठमाडौँ, वैशाख ६ गते। नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता-२०७८ मा ‘सेनाको चेली’ नामक वृत्तचित्र उत्कृष्ट स्थान हासिल गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालाले ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७८’, ‘नेपाली सेना फोटो प्रतियोगिता-२०७८’, ‘सिपाही २०२२’ फोटो तथा विभिन्न प्रदर्शनी-२०७८ आयोजना गरेको थियो। १२ वर्षे सशस्त्र द्वन्द्वमा सैनिक भाइ र विद्रोही दिदीको मुख्य कथामा आधारित वृत्त चित्रमा दोहोरो भिडन्तमा आफू अपाङ्ग र श्रीमान मारिएपछि विक्षिप्त बनेकी दिदी र भाइबीचको सम्बन्ध बिग्रदै जान्छ। वर्षौपछि दिदीको हातबाट तिहारको टीका लगाउन आएका भाइसँग दिदी रुष्ट बन्छिन्। कर्तव्य पालनको क्रममा गोली चलाउन आफू बाध्य रहेको र हरेक सिपाहीले उक्त जिम्मेवारी बहन गर्नुपर्ने भाइको बाध्यता सुनेपछि दिदी भाइबीच सम्बन्ध सुधार हुन्छ। त्यस्तै, कोभिड सङ्क्रमणका बेला सैनिकले खेलेको भूमिकामा आधारित ‘सेता मलामी’ लघु चलचित्र दोस्रो भएको छ। आमा गुमाएकी तथा बुवा सैनिकको जागिरमा व्यस्त रहँदा एक्लो महसुस गरेकी बालिकाको कथामा आधारित ‘डोल्मा’ वृत्त चित्रले तेस्रो स्थान हासिल गरेको छ। मङ्गलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजिक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।समारोहमा उत्कृष्ट फोटो प्रतियोगिता अन्तर्गत सैनिक तथा गैर-सैनिकतर्फ पाँच जना र सैनिकतर्फ १० फोटोग्राफर पुरस्कृत हुनुभएको छ। नेपाली सेनाले २०२४ सालदेखि वार्षिक रुपमा प्रकाशन गर्दै आएको सिपाही अङ्क-२०७८ र शिवपुरी- २०२२ मा उत्कृष्ट लेखनतर्फ तीन-तीन जनालाई पुरस्कार प्रदान गरिएको छ। सेनाले विभिन्न तालिम तथा समारोहमा सहभागी भएर उत्कृष्ट कला प्रर्दशनी गर्ने विभिन्न युनिटका प्रतिनिधि तथा फोटो उत्कृष्ट फोटो सङ्कलन गर्ने सैनिक कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ। सेनाको इतिहास र महत्व उजागर गर्ने उद्देश्यले जनसम्पर्क तथा सूचना निर्देशनालयले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको छ।
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार
वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।
बोटानिकल आर्ट तालिम सुरु
ललितपुर, वैशाख ५ गते। विज्ञान र कलाको अन्तरसम्बन्ध र महत्वलाई उजागर गर्ने उद्देश्यसहित सोमबारदेखि ‘बोटानिकल आर्ट एन्ड इलस्ट्रेसन’ तालिम सुरु भएको छ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) अन्र्तगत महिला वैज्ञानिक फोरमको आयोजनामा नास्टमै सो तालिम सुरु भएको हो। सो तालिमको राष्ट्रिय योजना आयोगका सदस्य डा.पुष्प रमण वाग्लेले उद्घाटन गर्नुभयो। उहाँले नेपाल जैविक विविधताको देश भएकाले वनस्पतिकोको अध्ययन, अनुसन्धान र संरक्षणमा कलाको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले अनुसन्धान र प्रविधिलाई जनउपयोगी केन्द्रित गर्नुपर्नेमा जोड दिदै विद्यालयको पाठ्यक्रममा नै दृष्टान्तकला (इलस्ट्रेसन) समावेश गर्नका लागि पहल गर्ने बताउनुभयो।यस्तै, नास्टका उपकूलपति डा.सुनिलबाबु श्रेष्ठले कला र विज्ञानको अध्ययनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, 'सिक्काको दुई पाटाजस्तै कला र विज्ञान अन्तरसम्बन्धित छन्। यिनलाई सँगसँगै लैजानुपर्छ।'यस्तै, वानस्पतिक विषय केन्द्रित कलाकार नीरा जोशी प्रधानले वानस्पतिक कलाको महत्व, इतिहास र वर्तमान गतिविधिबारे भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ वनस्पतिविज्ञ डा.केशरी लष्मी मानन्धर, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ रमेश खनाल, महिला वैज्ञानिक फोरमका संयोजक डा.अन्जना सिंहले विज्ञानको अध्ययनमा कलाको महत्वबारे चर्चा गर्नुभएको थियो। दुई दिने सो तालिममा करिव १० विद्यालयका २५ विद्यार्थी सहभागी छन्।
फुटुङ्ग पुस्तकको लोकार्पण
काठमाडौँ, वैशाख ५ गते। काठमाडौँको फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक ‘फुटुङ्ग’ सार्वजनिक भएको छ। झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। पुस्तक विमोचन गर्दै इतिहासकार एवं लेखक प्रा डा राजेश गौतमले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो। पुस्तक साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो। कार्यक्रममा अर्थशास्त्री प्रा. डा. केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउनुभयो। विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो। कार्यक्रममा साहित्यकार लब गाउँले र डा. घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो। पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ। उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप पुस्तक तयार भएको हो। पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश चित्रण गरिएको छ। त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ।