हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।
नुनको सन्तुलित प्रयोगमा जोड
‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि आयोडिन मन्थ सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थका रूपमा मनाइने प्रचलन अनुसार नेपालभर फेब्रुअरी १ तारिक वा बिहीबारदेखि आयोडिन मन्थका कार्यक्रम सुरु गरिएको हो । आयोडिन मन्थका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको ‘आयोडिनयुक्त नुनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पर्ने प्रभाव’ विषयक छलफलमा सोबारे जानकारी दिइयो ।
निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु
सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल/मटितेल प्रतिलिटरमा दुई/दुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ ।
भृकुटीमण्डपमा बिहीबारदेखि नवौँ ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै
भोलि (बिहीबार) देखि नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।
सामाजिक सुरक्षा कोष र एचआइडिसिएलबिच सम्झौता
सामाजिक सुरक्षा कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बिच लगानीमा सहकार्य गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका अधिकृत अर्जुनप्रसाद गौतमबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सर्वोच्चद्वारा भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने फैसला सदर
नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर निर्धारण र जरिवाना तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
अभिमुखीकरण तालिम नयाँ कार्यविधि, कार्यान्वयनमा लैजान सहमत
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दोस्रो संशोधित कार्यविधि अनुसार सञ्चालन गर्ने विषयमा सरोकारवाला संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान तालिम प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाका प्रतिनिधिसँग गरेको छलफलमा सहभागीले नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनमा गरिएका प्रावधान बिस्तारै कार्यान्वयनमा लैजाने विषयमा तालिम प्रदायक संस्थाहरू सहमत भएका छन् ।
स्टार्टअपलाई तीन प्रतिशत ब्याजमा पच्चिस लाखसम्म कर्जा
सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्न हालै सो कार्यविधि संशोधन गरेर स्वीकृत गरेको हो ।
कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नुहुँदैनः अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विद्युत् विधेयकमा उत्पादककै असन्तुष्टि
विद्युत् विधेयक २०८० मा निजी क्षेत्रले असहमति जनाएको छ । संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिँचाइ उपसिमितिमा आइतबार भएको छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का प्रतिनिधि तथा अन्य सरोकारवालाले उक्त विधेयकभन्दा २०४९ कै विधेयक संशोधन गर्दा उपयुक्त हुने सुझाव दिए ।
एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र छ उद्योगबिच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार एक हजार ६६५ जनाले विभिन्न उद्योगका लागि आवश्यक सिप तथा क्षमताको प्रशिक्षण र त्यसपछि रोजगारी प्राप्त गर्ने छन् । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसङ्घका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।
अप्पर सेतीमा लक्ष्मी सनराइजको लगानी
कास्की जिल्लाको सेती नदीमा बनाउन प्रस्ताव गरिएको माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैङ्कले लगानी गर्ने भएको छ । कुल चार अर्ब दुई करोड रुपियाँ लागत अनुमानको सो आयोजनामा ७५ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको अप्पर सेती हाइड्रो प्रालिले जनाएको छ । २० मेगावाट क्षमताको अप्पर सेती हाइड्रोले २०७८ माघमा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पाएको थियो । आयोजनाले गत असोज १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ ।
पूर्वाधार करबाट उठ्यो एक खर्ब पच्चिस अर्ब
पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपियाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।
श्रम अडिट गर्ने रोजगारदाता बढे
सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ । मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै एसडिजी लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम अडिट गर्ने रोजगारदाताको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसाय सुरक्षा विभागका अनुसार श्रम ऐन, नियमावली र छ वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनमा प्राथमिकता दिएर काम गर्दै आएको छ ।
हिमालयन हाइड्रो एक्स्पो वैशाखमा
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । हरेक दुई वर्षमा गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ गतेदेखि १४ गतेसम्म गर्न लागेको इप्पानले जनाएको छ । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने निश्चित गरेको छ । यही सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने गरी जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।
सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने
देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको हो । सहकारीमा आबद्ध सम्पूर्ण सदस्यको सदस्य पहिचान फाराम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न विभागले निर्देशन जारी गरेको हो । सहकारी सङ्घ/संस्थाहरूको अनुगमन निरीक्षणमा सबै सदस्यको फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ ।
उद्योगमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ ।
नेवानि मुख्यालय सार्न भूमि पुजा
नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो । उहाँले भन्नुभयो, “प्रधान कार्यालय सिनामङ्गलमा सार्ने विषयमा विभिन्न समयमा छलफल, नीतिगत निर्णय र विस्तृत परियोजना प्रतिवदेन तयार भएपनि निर्माणको चरणमा जान सकेको थिएन । भूमि पूजन भएसँगै यसको निर्माण प्रक्रियाका लागि लगानी, लागत, बोलपत्रलगायतका प्रक्रिया अघि बढ्ने छ ।”
तारकेश्वरको सिरक डसना कारखानामा आगलागी
तारकेश्वरको एक सिरक डसना कारखामा आगलागी भएको छ । ताकेश्वर नगरपालिका–९ स्थित सिरक डसना कारखानामा आगलागी भएको छ ।
एकचालिस संस्था कारबाहीमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरेका ती स्वास्थ्य संस्था कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा क्रमशः हिमाल इन्टरनेसनल मेडिकल सेन्टर, युनिकन मेडिकल सेन्टर, युनिकन हेल्थ कियर सेन्टर, ओस्कार मेडिकल सेन्टर, ट्यालेन्ट मेडिकल एन्ड डाइग्नोस्टिक सेन्टर काठमाडौँका अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेसनल मेडिकल सेन्टर, इबन मेडिकल सेन्टर, वल्डवाइड मेडिकल सेन्टर रहेका छन् ।
पेट्रोलियम पाइपलाइन विस्तारमा ढिलाइ
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला पेट्रोलियम पाइपलाइन विस्तारसँगै पूर्वाधार निर्माण गर्न दुई देशका सरकारबिच (जिटुजी) सम्झौता भएको थियो ।
कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।