• २५ वैशाख २०८१, मङ्गलबार

पोखरामा आगामी सातादेखि महोत्सव

blog

काठमाडौँ, चैत २१ गते । ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ । होटल सङ्घ पोखराले पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने सो महोत्सवमा रैथाने एवम् परम्परागत खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी एवम् पर्यटक दौड प्रतियोगितालगायत पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध कार्यक्रम प्रस्तुत हुने जनाएको छ । 

पोखराको ड्यामसाइड चोकदेखि खहरेचोकसम्म करिब साढे तीन किलोमिटरसम्म आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुँदा कुनै पनि किसिमको शुल्क नलाग्ने आयोजकले स्पष्ट गरेको छ । यसैगरी पोखराका होटलले महोत्सव अवधिभरका लागि यसअघि लिँदै आएको सेवा शुल्कमा २० प्रतिशतका दरले छुट दिने निर्णय गरेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।    

अध्यक्ष सुवेदीले १९ औँ संस्करणअन्तर्गत हुन गइरहेको फेवा महोत्सवमा पोखरा र गण्डकी प्रदेशका दुई लाख स्थानीय बासिन्दासहित अन्य स्वदेशी एवम् विदेशीसमेत गरी जम्मा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउनुभयो । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले औपचारिकरुपमा पर्यटकीय राजधानी घोषणा भइसकेपछि पोखरामा हुन गइरहेको महोत्सवलाई सफल तुल्याउन तीनै तहको सरकारसहित सम्बद्ध क्षेत्रका सबै पक्षबिच सहयोग र सहकार्य भइरहेको जानकारी दिँदै महोत्सव ऐतिहासिक रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले कोभिड-१९ सङ्क्रमणका कारण प्रत्यक्ष प्रभावित मुलुकको होटल व्यवसायलाई लयमा फर्काउने सन्दर्भमा हुन गइरहेको फेवा महोत्सवबाट आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । पोखरामा अहिले पाँच खर्बको लगानीमा बनेका एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको र १५ हजार नेपालीले रोजगारी पाएको होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कोभिड-१९ सङ्क्रमणपछि पोखराका करिब २५ प्रतिशत होटल व्यवसायी पेसाबाट विस्थापित भएको र करिब पाँच हजारले प्रत्यक्ष एवम्  अप्रत्यक्षरूपमा रोजगारी गुमाएको उल्लेख गर्दै आयोजक पक्षले आसन्न पोखरा महोत्सवलाई थप उपलब्धिमूलक बनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरेको छ । रासस