प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।” निर्वाचन आयोग ऐन–२०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्च सीमाबमोजिम जरिवाना तिर्नुपर्नेछ। तर कारबाही प्रक्रियामा जानुअघि आयोग पदाधिकारीले सोसम्बन्धमा निर्णय गर्नुपर्नेछ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो।
सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योलका बीच उपराष्ट्रपति पदको मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको तालिकाबमोजिम शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् ।
नेपालको संविधानले राज्यका निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विभिन्न व्यवस्था गरेको छ । संविधानमै स्पष्ट व्यवस्था गरिँदा पनि कार्यकारीको भूमिकामा महिलाको प्रतिनिधित्व ज्यादै असमान छ । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा ‘समतालाई अँगालो मारौँ’ रहेको भए पनि नेपालको अवस्थाले भने समतालाई परपर पन्छाउँदै छ ।
राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ । नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ । राष्ट्रपति पदको निर्वाचनमा दुवै जना पुरुष उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट राष्ट्रपति पदमा पुरुष नै निर्वाचित हुने सुनिश्चित भइसकेको अवस्थामा उपराष्ट्रपति पदको उम्मेदवारबारे विवाद देखिएको छ ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलका शीर्ष नेताले आगामी दिनमा राष्ट्रपतिबाट संविधानविरुद्धको गतिविधि र हस्तक्षेपकारी भूमिका हुन नहुनेमा जोड दिनुभएको छ । उहाँहरूले विगतको अनुभवबाट पाठ सिक्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।
स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा भने कुनै निर्णय गरेको छैन ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा राष्ट्रपति वा उपराष्ट्रपति तथा संवैधानिक निकायका प्रमुखमाथिको महाभियोगको प्रस्तावका विषयमा गरिएको मस्यौदाको व्यवस्थामा अझै सहमति हुन सकेको छैन। तथापि मस्यौदाको विषयवस्तुमाथि सदस्यले बिहीबार समितिको बैठक बस्नुअघि फरक मत राख्न पाउने गरी बैठक स्थगित भएको छ। समितिले बिहीबार नै मस्यौदाको अन्तिम रूप दिने तयारी गरेको छ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिनुहुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम सङ्घीय कानुनले अयोग्य नरहेका तथा मतदाता नामावलीमा नाम भएका वंशज नागरिक उम्मेदवार हुन योग्य हुने व्यवस्था छ । ऐनको उक्त व्यवस्थाबमोजिम नै सक्रिय राजनीतिकर्मी वा बाहिरका व्यक्तिलाई राष्ट्रपति उम्मेदवार बनाउने सम्बन्धमा दलहरूले छलफल चलाएका छन् ।
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ ।
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ। नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ। आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताउनुभयो। उहाँले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा भने खुलाउनुभएन।