• १० माघ २०८१, बिहिबार

मतगणना सम्पन्न ठुला दलकै वर्चस्व

blog

काठमाडौँ, मङ्सिर १८ गते  । स्थानीय तह उपनिर्वाचन २०८१ मा मतदान भएको ४१ पदको मतगणना सम्पन्न भएको छ । उपनिर्वाचनबाट नेपाली कांग्रेसले सबैभन्दा बढी पद जिते पनि स्थानीय निर्वाचन २०७९ मा सो दलले जितेको पालिकाको अध्यक्ष, उपाध्यक्ष र वडासहितको केही स्थान गुमाएको छ । उपनिर्वाचन भएका ४४ मध्ये स्थानीय निर्वाचन २०७९ मा कांग्रेसले २७ मा जित हात पारेको थियो । निर्वाचन नतिजा आएको दुई/दुई पालिकाको अध्यक्ष र उपाध्यक्ष तथा एक पालिकाको उपप्रमुखमा कांग्रेसले निकटतम प्रतिद्वन्द्वीमा चित्त बुझाउनु पर्‍यो । उपनिर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा आफूले जितेको पद गुमाउनु परेको छ भने अघिल्लो निर्वाचनमा गुमाएको पद प्राप्त गरेको छ । 

निर्वाचन आयोगका अनुसार सोमबार अबेरसम्म ३३ वडा, दुई गाउँपालिकाको अध्यक्ष, चार उपाध्यक्ष र एक/एक नगरप्रमुख र उपप्रमुख गरी ४१ पदको मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको छ । नेकपा (एमाले) ले छ र नेकपा (माओवादी केन्द्र) ले पाँच वडाको अध्यक्ष पदमा जित हात पारेको हो । 

जनता समाजवादी पार्टी नेपालले दुई वडामा जित हात पार्दा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारले एक/एक वडामा जित हात पारेका छन् । सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी हुनुभएको छ । उहाँ एक हजार ६३७ मत ल्याएर विजयी हुनभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी सविता बुढाले एक हजार ५९४, नेकपा (एमाले) की जाना शाहीले एक हजार १३२ मत प्राप्त गर्नुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहमा पहिलो पटक प्रतिनिधित्व गर्न लागेको हो । सो पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले काठमाडौँ–१६ मा जित हात पार्नुभएको हो । विशेष चासोका साथ हेरिएको काठमाडौँ जिल्लाकै कीर्तिपुर नगरपालिकाको प्रमुखसहित वडा नं. १ र ४ मा भने नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेसले यसअघि नगरप्रमुख र कीर्तिपुर–१ मा मात्रै जित हात पारेको थियो । 

अध्यक्ष र उपाध्यक्षमा एमाले र माओवादी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दुई पालिकाको अध्यक्षमध्ये एक/एकमा जित हात पारेका छन् । पालिकाको चार उपाध्यक्षमध्ये  एमालेले दुई र माओवादी केन्द्रले दुई स्थानमा जित सुनिश्चित गरेको छ । 

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाहीले तीन हजार १२७ मत ल्याएर निर्वाचित हुनुभयो । कांग्रेसका झलकबहादुर भण्डारी दुई हजार ६७५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमा सीमित रहनुभयो । 

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा भने माओवादी केन्द्रका नमोनारायण माझीले छ हजार ९६९ मत ल्याएर निर्वाचित हुनुभयो । कांग्रेसका बलराम सरदार पाँच हजार ३३३ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहनुभयो । नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रका देवका लामिछाने निर्वाचित हुनुभयो । उहाँले चार हजार २७२ मत ल्याउँदा कांग्रेसका इन्द्रा चन्दले तीन हजार १४७ मत ल्याउनुभयो । 

बागमती प्रदेशको दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा समेत नेकपा (एमाले) का उम्मेदवार निर्वाचित हुनुभएको छ । एमालेका उमा लुङ्गेलीमगर शेर्पाले दुई हजार ८०५ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का निम लेकी शेर्पाले दुई हजार ६०० मत प्राप्त गर्नुभयो । 

पुथाउत्तरगङ्गामा माओवादी केन्द्रका नरपुर बुढाले तीन हजार ६२७ मत ल्याएर निर्वाचित हुनुभयो । सो पालिकामा कांग्रेसका केशकुमारी तुलाचनले दुई हजार १२८ मत ल्याउनुभयो । 

स्वामीकार्तिक खापरको उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारीले एक हजार ७४० मत ल्याएर निर्वाचित हुनुभएको छ । कांग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत ल्याउनुभयो । 

स्थानीय तह निर्वाचन २०७९ को नतिजा अनुसार २७ पदमा कांग्रेस, आठ वटामा एमाले, सात वटामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र एक/एक जना निर्वाचित भएको स्थानमा आइतबार मतदान भएको हो । मङ्सिर १६ गते आइतबार सम्पन्न मतदानबाट ४१ जना निर्वाचित हुने छन् । दुई जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेस र एक वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।