बिहेको सिजन सुरु भएसँगै बजारमा सुनचाँदीको कारोबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले लगनको सिजन सुरु भएकाले सुनचाँदीको कारोबार बढ्दै गएको जानकारी दिनुभयो । अन्य समयको तुलनामा कारोबारमा ५० प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
तिलोत्तमा उद्योग व्यापार सङ्गठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा चम्बर अफ कमर्स सहआयोजक रहेको महोत्सव मङ्सिर २६ गतेसम्म चल्नेछ । मेलामा तीन सय स्टल रहेका छन । बिहीबार आयोजित मेला/महोत्सव उद्घाटन समारोहमा उद्यमी व्यवसायीले बैङ्क ब्याजदर र अन्य समस्याका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन रहेको बताउनुभयो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–११, कर्जुनामा निर्माण सुरु गरिएको एक औषधि उद्योग सम्पन्न नभई अलपत्र अवस्थामा रहेको छ । औषधि उत्पादनका लागि सरकारी लगानीमै निर्माण गर्न थालिएको सुवर्ण फर्मास्युटिकल्सको भवनलगायतका पूर्वाधारको ८५ प्रतिशत काम सम्पन्न भएको छ तर बाँकी काम सम्पन्न गर्ने र उद्योग सञ्चालन गर्न भने सम्बद्ध निकाय लागि परेको देखिँदैन ।
साङ्गीतिक ब्यान्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको ब्यान्डले तेस्रो एल्बम ‘घर गाउँ’मा रहेको गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर ब्यान्डको ओर्जिनल भर्सनको गीतलाई ब्यान्डले नयाँ रूपमा श्रोतामाझ ल्याएको छ ।
बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने चलचित्र ‘सायरा’ विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौँमा चलचित्रका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वल्र्डवाइड रिलिज’बारे सम्झौता गर्नुभएको छ । “पावनी फिल्म्सले विश्वभर चलचित्रलाई प्रमोसन गर्नेछ । हामीलाई चलचित्र निर्माणमा यसले झनै मद्दत पुगेको छ,” प्रस्तुतकर्ता परियारले बताउनुभयो ।
सङ्गीतलाई माया गर्ने युवापुस्ताको कमी छैन । सङ्गीतलाई माया गर्नुको साथै परम्परागत बाजा सिक्नमा पनि उत्साहित छन् अहिलेका युवापुस्ता । “हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ” लोकन्थली निवासी प्रनेश श्रेष्ठ भन्नुहुन्छ, “नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।” ख्वप कलेज, भक्तपुरमा इन्जिनियरिङ अध्ययनरत उहाँलाई सधैँ पढ्नको चटारो हुन्छ। तैपनि इच्छा भए उपाय अनेक भनेझैँ साइन्सको विद्यार्थी भए पनि उहाँको बाँसुरी बजाउने दृढ चाहनाले पढाइलाई कुनै रोकतोक गरेको छैन। समय मिलाएर उहाँले बाँसुरी सिक्न थालेको वर्षदिन भइसक्यो। विभिन्न गीत र लयमा बाँसुरीबाट धुन निकाल्नुहुन्छ ।
इटालीका मजदुरको कथा बोकेर ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव भन्ने नाराका साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौँ दिनमा आइपुगेको छ ।
सुरुका दुई खेलमा जितपछि एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश र क्रिस्टियानो रोनाल्डोको नाम गोल स्कोररमा दर्ता भयो। यी कारणले विश्वकप फुटबलमा यस पटक पोर्चुगलका लागि समूह चरण निकै फलिफाप सिद्ध भयो। समूह एचअन्तर्गत शुक्रबार अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध खेल्दा पोर्चुगलसँग अर्को एउटा लक्ष्य रहनेछ। अन्तिम १६ मा ब्राजिलसँगको भिडन्तलाई टार्ने। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि पोर्चुगल र ब्राजिलबीच खेल भयो भने त्यो दुई महान् टिमबीचको खेल हुनेछ तर हाम्रो र ब्राजिलको चाहना हामी पछि नै भिडौँ भन्ने हो।
समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दा ब्राजिललाई अझै नेमारको सेवा प्राप्त हुने छैन। यद्यपि एक खेलअगाडि नै प्रि–क्वार्टरफाइनलमा पुगिसकेको हुनाले ब्राजिललाई नेमारको अनुपस्थितिले फरक भने पार्ने छैन र उसले नयाँ खेलाडीलाई मौका दिने रणनीति लिने सम्भावना प्रबल छ। यसै पनि ब्राजिलका प्रशिक्षक टिटे क्यामरुनविरुद्धको खेलमा आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने सोचाइमा हुनुहुन्छ।
जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिकको दोस्रो साता जफत गरेको ठूलो परिणामको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । विभागले वातावरण विभाग र महानगरको अनुमति लिएर मात्रै नष्ट गर्नुपर्ने र अनुमति लिने प्रक्रियागत ढिलाइले गर्दा जफत गरेको पेन्ट्स एक महिनासम्म पनि नष्ट गर्न नसकेको स्वीकार गरेको छ । विभागका अनुसार म्याद गुज्रेका र रिलेबलिङ गरेका एक करोड आठ लाख ८० हजार रुपियाँ बराबरका रङ जफत गरी नियन्त्रणमा लिएको थियो ।
कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपियाँ नाफा कमाएको छ । आव २०७९/८० को साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपियाँ आम्दानी गरेको छ । यो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी आठ अर्ब ५० करोड रुपियाँ (करअघि) नाफा भएको प्राधिकरणले जनाएको हो ।
ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।