• १३ असोज २०८१, आइतबार

अढाई दशकदेखि अलपत्र सुवर्ण फर्मास्युटिकल्स

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी (मोरङ), मङ्सिर १६ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका–११, कर्जुनामा निर्माण सुरु गरिएको एक औषधि उद्योग सम्पन्न नभई अलपत्र अवस्थामा रहेको छ । औषधि उत्पादनका लागि सरकारी लगानीमै निर्माण गर्न थालिएको सुवर्ण फर्मास्युटिकल्सको भवनलगायतका पूर्वाधारको ८५ प्रतिशत काम सम्पन्न भएको छ तर बाँकी काम सम्पन्न गर्ने र उद्योग सञ्चालन गर्न भने सम्बद्ध निकाय लागि परेको देखिँदैन ।

नेपाली कांग्रेसका नेताको सम्मानमा यो औषधि उद्योगको नाम सुवर्ण फर्मास्युटिकल्स नामकरण गरिएको हो । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि सुवर्णशमसेर राणाको नाममा यो औषधि उद्योग स्थापना गर्न लागिएको हो । प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. शेखर कोइरालाले २०५५ सालमै शिलान्यास गर्नुभएको थियो । धरानमा स्थापना गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजत्तिकै महत्त्वका साथ लिइएको सुवर्ण फर्मास्युटिकल्सको पूर्वाधार निर्माण २०५८ सम्ममा र २०५९ देखि औषधि उत्पादन थाल्ने योजना थियो । 

प्रतिष्ठानको नाममा रहेको १३ बिघा जग्गामध्ये अढाई बिघामा उद्योगको भवन निर्माण भएको छ । ३४ करोड रुपियाँमा निर्माण भएको यो दुईतले भवनमा २८० कोठा छन् । केही महत्त्वपूर्ण पूर्वाधार निर्माण भइसकेको भए पनि बाँकी पूर्वाधार निर्माण गर्ने र उद्योग सञ्चालन गर्नेतर्फ ध्यान पुग्न सकेको छैन ।

प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले भन्नुभयो, “यो प्रतिष्ठानको निकै ठूलो प्रोजेक्ट हो । यसको सञ्चालनका लागि आवश्यक छलफल भइरहेको छ ।” उहाँले यस क्षेत्रका लागि औषधि उत्पादन र वितरण गर्न यो उद्योग स्थापना गर्ने योजना बनेको बताउनुभयो ।

प्रतिष्ठानका सामान्य प्रशासन शाखा प्रमुख कमल रायमाझीका अनुसार प्रतिष्ठानले आफ्नो आम्दानीको स्थायी स्रोत निर्माण गर्न औषधि उद्योग खोल्न त्यसबेला चार करोड ८० लाख रुपियाँ लगानी गरेको जानकारी दिनुभयो तर साझेदार संस्थाबीच समन्वय नहुँदा उद्योग सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । “साझेदार लगानीकर्ताको खोजी भइरहेको छ । यसका लागि उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी आफैँ लाग्नुभएको छ,” रायमाझीले भन्नुभयो । 

अहिले यो उद्योग परिसरमा करोडौँको खर्चमा बनेका पूर्वाधार र प्राविधिक सामग्री बेस्याहार भइरहेका छन् । “लाखौँ रुपियाँ पर्ने ट्रान्समिटरमा खिया लागिसकेको छ । भवनका भित्ता चर्किन थालेका छन्,” विशाल भवनको एउटा कोठामा एक्लै रेखदेख गर्दै आउनुभएका प्रतिष्ठानका गार्ड कृष्णप्रसाद न्यौपानेले भन्नुभयो । अहिले उद्योग परिसर दुव्र्यसनीको केन्द्र बनेको चर्चा गर्दै यति ठूलो सम्पत्तिको रक्षाका लागि प्रतिष्ठानले ठोस कदम चाल्नुपर्ने बताउनुभयो  ।