छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातको अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको हो। गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्नेछ।
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन्। हलेसी र आसपासका पर्यटकीय क्षेत्रका बारेमा पर्यटक घुमाउन र यथार्थ बुझाउन नगरपालिकाले गाइड (मार्गदर्शक) तालिम प्रदान गरेको छ। नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइडसम्बन्धी आठदिने तालिम प्रदान गरेको हो। तालिमको समापनसँगै पर्यटन गाइड उत्पादन भएका छन्। तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुरा पर्यटकलाई बुझाउन सकिने भएको सहभागी मोतीराज राईले बताउनुभयो।
ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य कोरोना महामारीमा पनि रोकिएको थिएन। ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–१, सावादिन, मिक्वाखोला गाउँपालिका–१ र २ (खोक्लिङ) र फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ। निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ।
सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बालीको खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तय गरेको खरिद मूल्यमा थप हो। गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले रैथाने बालीको उत्पादन खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने जानकारी दिनुभयो। किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुदान दिने निष्कर्षमा गाउँपालिका पुगेको हो।
नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण सर्लाहीमा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेको छ। जिल्लामा दशकौँ पुराना इनार, कुवा र पानी रसाउने अन्य ठाउँ अहिले सुक्न थालेका हुन्। वर्षौं पुरानो इनार र कुवामा पानी रसाउनै छाडेको स्थानीयवासीले बताएका छन्। इनार र कुवा सुक्दै गएपछि ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयवासीलाई खानेपानीको समस्या हुन थालेको छ। लालबन्दी नगरपालिका–१५, भित्री खोलाका पदमबहादुर वाइबाले पहिले जसरी कुवामा पानी रसाउन छाडेको जानकारी दिनुभयो।
सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माण पूरा भई हस्तान्तरणसमेत भएको हो। बसपार्क निर्माणको काम सकिएपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम, धनुषाका प्रमुख प्रदीप खनालले मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गर्नुभएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा हाट डाँडामा साप्ताहिक रूपमा बुधबार हाट लाग्ने गरेको छ। यहाँको हाट अन्यत्रको भन्दा धेरै नै फरक छ। अन्यत्र मुद्रामार्फत वस्तु तथा सेवाको खरिद–बिक्री हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ। परापूर्वकालदेखि हालसम्म पनि यहाँको हटियामा वस्तु विनिमय गर्ने प्रचलन कायमै छ। वस्तु विनिमय प्रथा धेरैका लागि अनौठो हुन सक्छ। आधुनिकतासँगै यो प्रथा पनि सबैतिर लोप भइसकेको छ। धनकुटाको यो हाटले अहिले पनि यही प्रथा जोगाइरहेको छ। भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेककटहरेका माथिल्लो भेगका बासिन्दासँग तरकारी साट्ने गर्छन्। वस्तु विनिमय मुद्राको कारोबार हुनुभन्दा अघिको प्रचलन हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ। कृषि विकास बैङ्क ५६औँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यो चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारका लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँसँग तिलगङ्गा आँखा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले गर्नुभएको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
यही माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि कहाँ पठाउने भन्नेबारे सोमबार मात्र निर्णय हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जहाज दुर्घटनाको प्राविधिक पक्ष विश्लेषणका लागि विशेष सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने भएकाले फ्रान्स, सिङ्गापुर वा बेलायत कुन देशमा पठाउने भन्नेबारे छलफल भइरहेको र सोमबारसम्म निर्णय हुने बताउनुभयो।
कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदी माथी पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताउनुभएको छ।