• १६ वैशाख २०८२, मङ्गलबार

‘ब्ल्याक बक्स’ पठाउनेबारे निर्णय हुन बाँकी

blog

काठमाडौँ, माघ ८ गते । यही माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि कहाँ पठाउने भन्नेबारे सोमबार मात्र निर्णय हुने भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले  जहाज  दुर्घटनाको प्राविधिक पक्ष विश्लेषणका लागि विशेष सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने भएकाले फ्रान्स, सिङ्गापुर वा  बेलायत  कुन देशमा पठाउने भन्नेबारे छलफल भइरहेको र सोमबारसम्म निर्णय हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “दुर्घटनाको स्वतन्त्र, सत्य, तथ्य र प्रभावकारी अनुसन्धानका लागि प्रमुख आधार मानिएको ब्ल्याक बक्सको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार परीक्षण गर्नुपर्ने भएकाले सकेसम्म स्वतन्त्र र नजिकको देशमा लैजानेबारे छलफल भइरहेको छ।” 

हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा नेपालको सिङ्गापुर, बेलायत र फ्रान्ससँग सम्झौता रहेकाले अहिले नै कहाँ लैजाने भन्नेबारे स्पष्ट भइनसकेको उहाँले बताउनुभयो। 

दुर्घटनाका कारण पहिल्याउन  महत्वपूर्ण  मानिएको ब्ल्याक बक्स  स्वेदशमै  जाँच गर्न सकिने सुविधा नरहेको र ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा  सघाउन ब्ल्याक बक्सको रिपोर्ट नै कुर्नुपर्ने उहाँले बताउनुभयो। हालसम्म उपलब्ध तथ्याङ्क र ब्ल्याक बक्सबाट प्राप्त हुने तथ्याङ्कहरूलाई  विज्ञहरूसँग बसेर दुर्घटनाका कारण पहिल्याउन थप छलफल हुने उहाँको भनाइ छ।

आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ। विमान दुर्घटनापछि फ्रान्सबाट नेपाल आएको एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ।

दुर्घटनामा १५ जना विदेशी नागरिकले समेत ज्यान गुमाएपछि दुर्घटनाका कारण के हुन सक्छ भन्नेबारे अन्तर्राष्ट्रियस्तरमै चासोको विषय बनेको छ। विगतमा भएका हवाई दुर्घटनाको फेहरिस्तको विश्लेषण हवाई दुर्घटनाको विश्लेषण हवाई उडानसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ, सङ्गठन र मुलुकहरूमा पनि हुँदै आएको छ ।  सरकारले  जाँचबुझ  आयोगलाई दुर्घटनाबारे सत्य, तथ्य बाहिर ल्याउन ४५ दिनको समय दिएको छ।