नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रिमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका अनुसार देशभरबाट २४ घण्टामा १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
क्षयरोग अन्त्यको लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले काठमाडौंमा एक कार्यक्रमका बीच क्षयरोग अन्त्य गर्ने उद्देश्यले वि.सं. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनकि गरेको हो ।
सङ्घीय संसद्अन्तर्गत बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं, असार २८ गते। पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाले गैरकानुनी लाभ हुने गरी सरकारलाई हानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार मुद्दा दायर भएको हो। निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कन्सल्टेन्सीका सञ्चालकसहित सात जनाविरुद्ध ४७ लाख ३७ हजार ६२९ रुपियाँको बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। पशुहाट बजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ जिरीखिम्तीमा आफूलाई फाइदा हुने गरी गलत मनसाय राखेर सरकारलाई हानीनोक्सानी पुर्याउने गरी बिल भरपाइ पेश गरेको आरोप अख्तियारले लगाएको छ। उनीहरुमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मङ्गलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएपछि बैठक ४५ मिनेटको लागि स्थगित भएको थियो ।
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलङ्काको जस्तो आर्थिक सङ्कटतर्फ नगएको बताउनुभएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको हो।
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ट्रिपरभित्र १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ट्रिपर चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण सङ्घीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी छ ।
२०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम आयोजना गरियो । नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो ।
सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।