• ३० चैत २०८२, सोमबार

शारदामा खानेपानी संकट, १५० घरधुरी प्रभावित

blog

शारदा नगरपालिका–६ टाकुराका स्थानीयवासी खानेपानीका लागि पालो कुर्दै। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, चैत ३० गते ।
सल्यानको शारदा नगरपालिका–६ अन्तर्गत सापमारा, ठुलागैरा, टाकुरा र गोगनपानी क्षेत्रमा खानेपानी अभाव हुँदा करिब १५० घरधुरी प्रभावित भएका छन्। मुलाखोला लिफ्ट खानेपानी आयोजनाको मोटर बिग्रिएपछि स्थानीयवासी गम्भीर समस्यामा परेका हुन्।

स्थानीयका अनुसार बिहानैदेखि पानीका लागि लाइन बस्नुपर्ने बाध्यता भए पनि पर्याप्त पानी उपलब्ध हुन सकेको छैन। सापमाराकी शशिला परियारले पानी अभावका कारण दैनिक जीवन अत्यन्त कष्टकर बनेको बताउनुभयो।

“म मुटुरोगी हुँ, तर पानीकै लागि बिहानै उठेर टाढासम्म जानुपर्छ,” उहाँले भन्नुभयो।

त्यस्तै स्थानीय पिमा रानाले खानेपानी अभावका कारण समयमै खाना पकाउन नसकिएको र बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या भएको बताउनुभयो।

“पानीकै लागि धेरै समय दिनुपर्छ, अरू काम गर्न नै भ्याइँदैन,” उहाँको भनाइ छ। स्थानीयवासीले तत्काल खानेपानीको उचित व्यवस्थाका लागि सरकारसँग माग गरेका छन्।

२०७९ सालमा करिब एक करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको मुलाखोला–ठुलापोखरा लिफ्ट खानेपानी आयोजना गत पुस महिनादेखि अवरुद्ध भएको उपभोक्ता समितिका अध्यक्ष डम्बर रोकाले जानकारी दिनुभयो। उहाँका अनुसार मोटर बिग्रिएपछि नयाँ मोटर ल्याइए पनि ट्याङ्कीसम्म पानी नपुगेको र प्राविधिक समस्या देखिएको छ।

समितिसँग पर्याप्त बजेट अभाव रहेको र नयाँ उपकरणले समेत अपेक्षित रूपमा काम नगरेको उहाँले बताउनुभयो। खानेपानी समस्याबारे स्थानीय सरकारलाई जानकारी गराइसकिएको भए पनि समाधानमा ढिलाइ भइरहेको स्थानीयवासीको गुनासो छ।