• २३ वैशाख २०८१, आइतबार

घुस लिएको आरोपमा खरिदार र लेखापढी सहयोगी पक्राउ

blog

मालपोत कार्यालय अगाडि रहेको पसलबाट साह र पटेल पक्राउपछि जम्मा भएको जनसमूह । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, चैत १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बारामा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जना कर्मचारी र लेखापढी सहयोगीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कार्यालयका जग्गा रजिस्ट्रेसन फाँटका खरिदार रामविश्वास प्रसाद साह र उनीसँगै लेखापढी व्यवसायी गर्ने गौरी पटेल छन् ।

आइतबार साँझ ५ बजे कार्यालय बन्द भएपछि कार्यालय अगाडि रहेको पसलमा पहिलादेखि सेवाग्राही काम गरेबापतकाे १५ हजार रुपियाँ  दिन बोलाएपछि आयोग टोलीले पक्राउ गरेको हो । 

हेटौँडाबाट आएको टोलीले रकमसहित साह र पटेललाई पक्राउ गरेको आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी देवी प्रसाद थपलियाले बताउनुभयो । 

यसरी रकमसहित रंगेहात पक्राउ परेका साह र पटेलसँग सोधपुछ तथा मुचुल्का उठाएर थप कानुनी कारबाहीका लागि आयोगको केन्द्रीय कार्यालय टंगालमा पठाइने जानकारी उहाँले दिनुभयो ।