गोरखापत्र अनलाइन
काठमाडौं, चैत १९ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशिला तयार गर्न नसकिने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने उहाँले बताउनुभयो । एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित नभईकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने उहाँले दाबी गर्नुभयो ।
महासचिव पोखरेलले वर्तमान दलीय गठबन्धनका कारण मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहित भएको आरोप लगाउनुभयो । अहिले कालोबजारी, तस्करीलगायतका गतिविधि बढेकाले अर्थतन्त्र दयनीय भएको हो उहाँले भन्नुभयो ।
सोहीअनुसार उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घीयतामाथि खुल्लमखुल्ला हमला भइरहेको बताउनुभयो । एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा सङ्घीय शासन संरचना बनेको बताउनुभयो ।
सङ्घीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको उहाँको भनाइ छ । सङ्घीयता विरोधीले संघीयताबिरुद्धमा नारा लगाइरहेको भन्दै उहाँले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताउनुभयो । सङ्घीयताको उचित ढङ्गले कार्यान्वयन हुनुपर्ने उहाँको माग छ । सङ्घीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्नेकुरा सह्य नहुने उहाँले चेतावनी दिनुभयो ।