मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपाल र गृह मन्त्रालयबीच भएको छलफल मङ्गलबार पनि निष्कर्षमा पुगेन। दुवै पक्षबीच तीन दिनदेखि छलफल जारी छ। गृह मन्त्रालयका वार्ता टोलीका संयोजक प्रदीप कोइरालाले समितिले राखेका माग विभिन्न प्रकृतिका रहेकाले समाधानको पहल भइरहेको जानकारी दिनुभयो। मङ्गलबारको छलफलमा समितिले राखेको नीतिगत विषय समाधानका लागि प्रस्ताव बनाएर छलफल गर्ने सहमति भएको छ। उहाँका अनुसार समितिले राखेका छबुँदे मागमा नीतिगत प्रक्रिया, अदालती प्रक्रिया र प्रशासनिक प्रक्रिया गरी तीन क्षेत्रसँग सम्बन्धित छन्। अदालती प्रक्रियाको विषयमा आफूहरूले केही गर्न नसक्ने उहाँको भनाइ छ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरीलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले आरोपित गिरीलाई पीडित आरती रावल गिरीको कोठाबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालयमा नभई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास, प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने व्यवस्था गरिएको हो।
बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङ जिल्लाका चारवटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी भने एक जना कर्मचारीमा छ । बैतडी र दार्चुला जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालाई बैतडीस्थित भवन डिभिजन कार्यालय र बझाङको पूर्वाधार विकास कार्यालयको पनि जिम्मेवारी थपिएपछि उहाँका अफिस तीन जिल्लाका चार पुगेका हुन् । बझाङ एक दिन बसेर उहाँ भोलिपल्ट दार्चुलाको स्थलगत कार्यालय पुग्नुहुन्छ । त्यहाँका योजना हेरेर उहाँ पूर्वाधार विकास र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ ।
विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।
बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्। पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुग्नु भएको छ।
धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरीधाममा मङ्गलबार पुतला नाँच (रनपुतला) प्रस्तुत गर्दै अछामी महिला ।
बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धि रक्षाको लागि आफू लडाइँको मैदानमा उत्रेको बताउनुभएको छ ।
नेपालभाषा साहित्य पुरस्कार ‘करुणाकर सिरपाः’ मंगलबार साहित्यकार शान्तराज शाक्यलाई ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले प्रदान गर्नुभयो।
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको बताउनुभएको छ ।