• २७ वैशाख २०८२, शनिबार

लोकतन्त्र र संघीयता रक्षाको लागि मैदानमा छु : उपेन्द्र यादव

blog

बाराको निर्वाचन क्षेत्रमा उपेन्द्र यादव ।

बारा (महागढीमाई) चैत २८ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धि रक्षाको लागि आफू लडाइँको मैदानमा उत्रेको बताउनुभएको छ ।

चुनाव प्रचार अभियानको क्रममा बाराको महागढीमाईमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘ऐतिहासिक जनआन्दोलन, माओवादी जनविद्रोह र मधेश विद्रोहबाट प्राप्त उपलब्धि समाप्त पर्ने खेल भइरहेकोले तिनै उपलब्धि रक्षाको लागि म लडाइँको मैदानमा उभिएको हुँ।’’

विभिन्न जनविद्रोहबाट प्राप्त उपलब्धिको रक्षा चुनौतीपूर्ण बनेको भन्दै अध्यक्ष यादवले आमजनता परिवर्तनको पक्षमा मतदान गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

इतिहासको पिधमा बिसर्जन भइसकेको राजतन्त्रलाई फर्काउन राजावादी र अन्यत्रबाट परिचालित तत्वले संघीयता र परिवर्तनकारी शक्तिमाथि प्रहार गरेर अघि बढ्ने दाउमा रहेको दाबी गर्दै अध्यक्ष यादवले गठबन्धन दलको साझा उम्मेदवारलाई मदतान गर्न आमजनतालाई आह्वान गरे।

बारा क्षेत्र नम्बर २ अन्तर्गत गाउँगाउँमा पुग्दा त्यहाँ जनताको अवस्था अत्यन्तै दयनीय,गरिबी,अशिक्षा र बेरोजगारीको भुमरीमा पिल्सिएको बताउदै अध्यक्ष यादवले बारासहित सिंगो मधेशको विकास र परिवर्तनका लागि आफूले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन्।

यही अवस्थामा जनताले आर्थिक संकटबाट पार पाउन नसक्ने ठहर गर्दै कृषि क्षेत्रमा आर्थिक सबलिकरणका लागि किसानलाई खेतमा सिंचाई र मलको उत्पादन र उपलब्धता मुलुकमा तत्काल सुरू गर्नु पर्नेमा जोड दिनुभयो।