काठमाडौँ, चैत २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालयमा नभई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास, प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने व्यवस्था गरिएको हो।
मङ्गलबार सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सङ्घीय संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री कार्यालयको परामर्शमा यस्तो नीति ल्याइएको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ देखि ४ बजेसम्मको समय व्यवस्था गरिएको छ। बिहान १० देखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय छुट्याइएको छ भने दिउँसो २ देखि ४ बजेसम्म पार्टी नेता कार्यकर्तालाई भेट्न समय दिइने
भएको छ। बैठकमा माओवादी संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरिएको छ। मुख्य सचेतक हितराज पाण्डे संयोजक रहनुभएको कार्यदलमा पूर्णबहादुर घर्ती, विमला सुवेदी, जगप्रसाद शर्मा र गङ्गा बेल्वासे सदस्य हुनुहुन्छ। मुख्य सचेतक पाण्डेले भन्नुभयो,
“बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा योजना र बजेटका बारेमा सुझाव पेस गर्ने निर्णय भएको छ।”
उहाँले बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ दलीय सहमतिमा पारित गर्न पहल भइरहेको जानकारी दिनुभएको बताउनुभयो।
माओवादी केन्द्र राष्ट्रिय सभाका मुख्य सचेतक गोपी अछामीले पार्टीका तर्फबाट दुवै सदनका कामलाई प्रभावकारी बनाउने र फास्ट ट्र्याकबाट सत्य निरूपण तथा मेलमिलापको काम अघि बढाइने बारेमा बैठकमा छलफल भएको बताउनुभयो।