काठमाडौँ, बैशाख २ गते ।स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत सङ्गठनले स्वास्थ्यकर्मीलाई पनि हप्तामा दुई दिन बिदा दिन अपिल गरेका छन् ।
सङ्गठनले विज्ञप्ति जारी गर्दै हप्तामा दुई दिन शनिवार र आइतबार बिदा दिने मन्त्रिपरिषद्को बैठकको निर्णयको स्वागत गर्दै स्वास्थ्यकर्मीलाई पनि हप्तामा दुई दिन बिदा दिन अपिल गरेको हो ।
मेडिकल एशोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्कीको संयोजकत्वमा गठित उक्त सङ्गठनले मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार सरकारी कर्मचारीलाई दिइएको सातामा दुई दिन बिदा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा पनि लागू हुनुपर्ने माग गरेको हो ।
उक्त विज्ञप्तिमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति अभाव र सङ्गठन संरचनाको कमजोरीका कारण स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा परिरहेको उल्लेख छ ।
यसले मानसिक तनावसहित विभिन्न समस्या निम्त्याएको विज्ञप्ति मार्फत औंल्याइएको छ। यसैबीच, स्वास्थ्य मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।