• १३ असोज २०८१, आइतबार

भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ : प्रधानमन्त्री ‘प्रचण्ड’

blog

प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, चैत २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको बताउनुभएको छ । 

स्वर्गीय नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको मंगलबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले आउने नीति तथा कार्यक्रम र बजेटमा भलिबलका लागि सम्बोधन गर्ने बताउनुभयो । 

उहाँले दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि भलिबल विकासका लागि अपेक्षा अनुसार नभएको भन्दै तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सहयोग गर्ने वाचा गर्नुभएको हो । 

पोष्टबहादुर बोगटीको सम्झनामा आयोजित भलिबल प्रतियोगितामा तीन विभागीय, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले २५-२१, २५-२२, २६-२४ को जित निकालेको हो । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । 

लिगकप नकआउटको आधारमा सञ्चालन हुन प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र सन्त्वना पुरस्कार ५० हजार रुपियाँ पाउनेछ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।