• ८ मंसिर २०८१, शनिबार

जङ्गबहादुरलाई चार कार्यालय !

blog

गोकर्ण दयाल

बैतडी, चैत २९ गते । बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङ जिल्लाका चारवटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी भने एक जना कर्मचारीमा छ ।

बैतडी र दार्चुला जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालाई बैतडीस्थित भवन डिभिजन कार्यालय र बझाङको पूर्वाधार विकास कार्यालयको पनि जिम्मेवारी थपिएपछि उहाँका अफिस तीन जिल्लाका चार पुगेका हुन् । बझाङ एक दिन बसेर उहाँ भोलिपल्ट दार्चुलाको स्थलगत कार्यालय पुग्नुहुन्छ । त्यहाँका योजना हेरेर उहाँ पूर्वाधार विकास र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ ।

होटलमा खाना खाएर रातबिरात गाडीमा दगुर्दा जङ्गबहादुरले राम्ररी सुत्न नपाएको कैयौँ रात भइसकेको छ । उहाँ दार्चुला र बझाङको कार्यालयका योजना हेरेर मङ्गलबार बैतडी आइपुग्नुभएको छ । राति नहिँडे अर्को जिल्लाको काम गर्न नभ्याइने भएकाले दौडधुप गरिरहेको थापाले बताउनुभयो । 

तीन जिल्लाका चारवटा कार्यालयमार्फत झन्डै दुई अर्बका ३२२ वटा सडक पूर्वाधार र भवन निर्माणका योजना सञ्चालित छन् । समयमै योजना पूरा गर्नुपर्ने दायित्व आइलागेपछि उहाँ दिनभरि एक जिल्लाको काम सकेर रातभर हिँडी भोलिपल्ट अर्को जिल्लाको काम गर्नुहुन्छ । यति धेरै काम गरेर पनि जङ्गबहादुरले पाउने तलब भनेको एउटा कार्यालयबाट मात्रै हो । दोहोरो सुविधा लिन नपाइने नियम छ । 

सङ्घीयतापछि बैतडीमा रहेका सडक डिभिजन र पाटन नयाँ सहरजस्ता प्राविधिक कार्यालय घाम ताप्ने अड्डा बनेका छन् । सङ्घीय सरकार मातहतका सडक डिभिजन र नयाँ सहर कार्यालयमा पर्याप्त जनशक्ति र दक्ष प्राविधिक भए पनि प्रदेश सरकारले सेवामा खटाउन सक्दैन । प्रदेश सरकारले लोकसेवाबाट पनि जनशक्ति भर्ना गर्न सकेको छैन । 

प्रदेश मातहतका पूर्वाधार विकास कार्यालय र भवन कार्यालयमा योजनाको चाप भए पनि पर्याप्त जनशक्ति नहुँदा तीन जिल्लाका चारवटा कार्यालयबाट एउटै व्यक्तिले सेवा दिनुपर्ने बाध्यता छ । योजना र बजेटअनुसार प्रदेश मातहतका कार्यालयमा जनशक्ति नहुँदा तीन जिल्लाका चार ठाउँबाट काम गरिरहेको थापाले बताउनुभयो । योजना मात्रै होइन, कर्मचारीलाई तलब खुवाउन पनि थापा नै चाहिन्छ । 

उहाँका अनुसार तीन जिल्लाका ३२२ योजनाको चैतसम्म करिब ३५ प्रतिशत रकम मात्रै खर्च भएको छ । ६० प्रतिशतभन्दा बढी रकम खर्च हुन बाँकी छ । काम गर्ने समय तीन महिना मात्रै छ । 

भवन कार्यालय बैतडीमा नौ जनाको दरबन्दीमा दुई जना स्थायी र दुई जना करारका इन्जिनियर कार्यरत छन् । छ जनाको दरबन्दी रहेको पूर्वाधार विकास कार्यालय बैतडीमा तीन जना मात्रै प्राविधिक छन् । तीन जनाले बैतडी र दार्चुला हेरिरहनु भएको छ । बझाङमा तीन जना प्राविधिक छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट दार्चुला सडक कालोपत्रे भइरहेकाले त्यहाँ नियमित निरीक्षण गर्नुपर्ने बाध्यता छ । त्यस्तै बैतडीको पाटन–पञ्चेश्वर र देहिमाडौँ–गिरेगाडा सडकखण्डको पनि छ तर जनशक्ति भने कम रहेको उहाँको भनाइ छ ।