इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली र चिनियाँ अधिकारीबिच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। बुधबार भएको सो बैठकमा तातोपानी नाका दुईतर्फी खुल्दा दुई देशले सीमामा अवाञ्छित गतिविधि हुन नदिनेबारे छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ को फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेटसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनीय घटनाबाट अचम्मित भएको भावमा देखिनुहुन्छ ।
चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्रको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर तीन मिनेट लामो छ । सिनेमाले एकल महिलाको पुनर्विवाहको कथा प्रस्तुत गरेको छ । चलचित्र यही असार २९ गते प्रदर्शन हुँदै छ । करिश्मा मानन्धरले चलचित्रमा एकल महिलाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा सरोजले निर्देशनसँगै अभिनय पनि गर्नुभएको छ ।
अभिनेतृ रेखा थापाले नयाँ चलचित्रको नाम सार्वजनिक गर्नुभएको छ । चलचित्रको नाम ‘उपहार’ राखिएको छ । रेखा फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र सामाजिक कथामा बन्ने छ । फिल्मको कथा सुलक्षण भारतीले लेख्नुभएको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने चलचित्रमा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहने छ । साउनको दोस्रो साताबाट छायाङ्कन सुरु हुने चलचित्र यसै वर्ष प्रदर्शन गरिने योजना रहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा उपभोक्ता शिक्षा र सचेतनाका कार्यक्रममा बजेट विनियोजन गरेको छैन । अघिल्ला वर्षहरूमा उपभोक्ता सचेतनाका कार्यक्रम सञ्चालन गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा छुुट्टै बजेट विनियोजन हुँदै आएको तर यो वर्ष कटौती गरिएको छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले उपभोक्ताको अधिकार सुरक्षामा सरकार उदासीन देखिएको आरोप लगाउनुभयो । अघिल्ला वर्षहरूमा उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिँदै आएकामा यो वर्ष खर्च घटाउने नाममा महत्त्वपूर्ण कार्यक्रमको बजेट काटिएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले असार महिनामा मात्र दुई अर्ब ५४ करोड बढी बजेट खर्च गरेको छ । असार सुरु देखि १७ गते सम्ममा मात्र कर्णालीले दुई अर्ब ५४ करोड ३६ लाख ५९ हजार आठ सय ३२ रुपैयाँ ३१ पैसा बजेट खर्च गरेको हो ।
विद्युत् सुविधामा पछाडि पर्दै आएको कर्णाली प्रदेशको विद्युत् आपूर्तिलाई दिगो बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले करिब तीन मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना निर्माण गर्ने भएको छ । हुम्ला, डोल्पा र मुगुमा विद्युतीकरणका एसियाली विकास बैङ्कको सासेक परियोजनामार्फत अनुदानमा बन्ने सौर्य प्रणाली निर्माणका लागि बुधबार प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहनुभएका घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि काठमाडौँको प्रमुख जिल्ला अधिकारी पद रिक्त थियो । गृह मन्त्रालय सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका बस्नेत आठ वर्षदेखि गृह मन्त्रायल अन्तर्गतका विभिन्न निकायमा सहसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । बस्नेत यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पर्सामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले विभिन्न जिल्लामा एक हजार २७० जनाको निवेदनमा मेलमिलाप गराएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले असार १९ गतेसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै बुधबार ऋणी र साहुबीच मेलमिलापबाट साहुको नाममा राजीनामा पास भएको ३० कित्ता जग्गा मोहीलाई फिर्ता गरिएको बताउनुभएको हो।
मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयले विपत्मा परेका नागरिकलाई उद्धार गर्न तथा राहत व्यवस्थापनका लागि काठमाडौँ, विराटनगर, वीरगन्ज भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी तथा जुम्लामा मानवीय सहायता स्थल स्थापना गरी पुनर्स्थापनाका लागि आवश्यक बन्दोबस्ती सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।
बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
श्रीलंका भ्रमणमा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।