व्यावसायिक कागती खेतीका लागि किसानलाई कागतीका बिरुवा वितरण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गर्ने कार्य गरिएको हो ।
चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो ।
दोलखामा यो वर्ष अहिलेसम्म ६३ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ३८ प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३८ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
चलचित्र बगान प्रदर्शन भएसँगै कलाकारहरू काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शक प्रतिव्रिmया बुझ्न पुगेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेतृ करिश्मा मानन्धर र प्रमिला कार्कीले दर्शकसँग साक्षात्कर गर्नुभएको हो । चलचित्र हेरर फर्किएका दर्शक कोही अभिनेतृ मानन्धरको अँगालोमा परेर आँसु झार्दै थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईं जस्तै हुनुपर्छ भन्दै भक्कानिएका थिए । चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको भन्दै धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका सन्तानले आफ्नो जिम्मेवारी बोध गराइदिएको बताए ।
प्राडा. योगेन्द्र प्रसाद (वाइपी) सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर–के, किन र कसरी’ नामक पुस्तक लोकार्पण भएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हालै पुस्तकको लोकार्पण गर्नुभयो । डा. यादवले मेडिकल अध्ययन गरे पनि १० वर्षमात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत नेतृत्वमा आएर जनस्वास्थ्यका नीति निर्माणमा लागेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रगति भएको दाबी गर्नुभयो । यद्यपि कतिपय क्यान्सर उपचार गर्ने अस्पतालमा अत्यावश्यक प्रविधिको अभाव उहाँले औँल्याउनुभयो ।
चलचित्र ‘एक भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर प्रमुख भूमिकामा हुनुहुन्छ । विपीनलाई लैङ्गिक अल्पसङ्ख्यक पात्र कमलामाईको अवतारमा देखाइएको छ ।
राष्ट्र बैङ्कका अनुसार जेठ मसान्तमा एक लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब १० करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २३५ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ । गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो ।
युवा जनशक्ति बिदेसिन थालेपछि सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका आधा दर्जन गाउँ रित्तिँदै गएका छन्। घरपरिवार चलाउन वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएपछि पाँच वटा वडा रहेको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका दुई वटा वडाका घरमा ताल्चा लाग्न थालेको हो। भोटेकोशीको तातोपानी, लिस्ती, दुगुनागढी, फुल्पिङकट्टी, मार्मिङ, बोक्चेन र बाह्रबिसे नगरपालिकाको घुम्थाङ, गातीलगायत गाउँका युवा जनशक्ति विदेश पलायन भएका हुन्।
डेङ्गु सङक्रमण रोक्न धादिङबेँसीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । पछिल्लो सातामा डेङ्गुको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, धादिङ सोसियल भोलेन्टियरलगायतका निकायले शनिबारदेखि यो अभियान सुरु गरेका हुन् । यो अभियान अन्तर्गत शनिबार धादिङ अस्पताल परिसरभित्र सरसफाइ गरिएको छ । बजार क्षेत्रका घर तथा भवनको छेउछाउमा भएका पानी जम्ने खाल्टाखुल्टी पुर्ने र लामखुट्टेले फुल पार्ने, बच्चा जन्माउन सक्ने गरी पानी जम्मा हुने भाँडा खोजेर नष्ट गरिएको छ ।
राष्ट्रिय जनगणना २०४८ देखि २०७८ सम्म आइपुग्दा जनगणनाको त्रुटि क्रमिक रूपमा कम हुँदै गएको छ । राष्ट्रिय जनगणनाको त्रुटि पत्ता लगाउन गरिने जनगणना जाँच परीक्षणका नतिजा अनुसार क्रमिक रूपमा त्रुटि कम हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको हो । कार्यालयले केही दिनअघि सार्वजनिक गरेको गणना जाँच सर्वेक्षणको प्रतिवेदनमा अनुसार २०४८ सालमा गरिएको जनगणनामा कुल जनसङ्ख्याको ११ प्रतिशत जनसङ्ख्याको जनगणना गर्न छुटेको, २०५८ सालमा पाँच, २०६८ सालमा ३.६ र २०७८ सालमा आइपुग्दा सो प्रतिशत घटेर २.७३ प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।
सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखापत्रलाई बताउनुभयो।