• १३ साउन २०८१, आइतबार

दोलखामा ६३ प्रतिशत मात्र धान रोपाइँ

blog

बाबुराम शर्मा 

दोलखा, असार ३१ गते । दोलखामा यो वर्ष अहिलेसम्म ६३ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । 

असार महिना सकिनै लाग्दा पनि पानी अभावले जिल्लाका विभिन्न स्थानमा हालसम्म ६३ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आकाशे पानीको भर पर्नुपर्ने खेतमा कम रोपाइँ भएको हो । पानीको पहुँच भएका ठाउँमा रोपाइँ भएको छ । रोपाइँका लागि किसानहरू आकाशे पानी पर्खिरहेका छन् । गतवर्ष हालसम्म करिब ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । 

दोलखाको ९ वटै स्थानीय तहको तल्लो भूभागमा धान उत्पादन हुने गरेको छ । जिल्लामा यस वर्ष दुई हजार ९०१ हेक्टर भूभागमा धानखेती हुने अनुमान गरिएको छ । जिल्लामा गत वर्ष तीन हजार दुई हेक्टर भूभागमा धानखेती भएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । 

युवा विदेश पलायनका कारण गाउँमा जनशक्तिको अभाव भएको छ । लागत महँगो हुँदा पनि किसान समस्यामा परेका छन् । खेतीकै बेला पशुचौपायमा लम्पी स्किन रोग फैलिएको छ । यो रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको भीमेश्वर नगरपालिका–४ जिलुका कृषक रङ्गलाल चौलागाईँले गुनासो गर्नुभयो ।