प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता' सिमसार क्षेत्रको पुनः स्थापना’ सङ्कल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्। विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका स्थानीयले गत मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्नुपरेको हो। सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेको हो।
कुनै दिन पाँच मोहोर जुँगा भत्ता पाउनु हुने दोलखाका एक ज्येष्ठ जनले नौ दशक पार गर्दा पनि आफ्नो जुँगा जोगाएरै राख्नु भएको छ ।
सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य हेमनारायण यादवको हत्या भएको उन्नाइस वर्ष बित्न लाग्दा पनि हत्याका अभियुक्त पक्राउ परेका छैनन्। २०६० माघ १९ गते सोमबार सांसद यादवको हत्या भएको थियो। हत्याको अर्को वर्षदेखि उहाँको सम्झनामा स्मृति सभाको आयोजना गर्दै उहाँको परिवारजन र नेकपा (एमाले)का जिल्लास्तरीय नेताहरूले कारबाहीको माग गर्दै आइरेका छन्।
धनुषाको ढल्केबरमा रहेको कृषि बजार व्यवस्थापन समितिले किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध गराएपछि बजारमा क्रेता र बिक्रेताको सङ्ख्या बढेको छ । बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न रकम सापटी, बासको व्यवस्था, भ्रमण र किसानलाई पुरस्कृत तथा कृषि तालिमजस्ता सुविधा उपलब्ध गराउने थालेको हो ।
दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ । लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताउनुभएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
सनुसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि.मा अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै सदस्यको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। हरिनगर–२, रामनगर, भुटाहामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थामा करोडौँको अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै पदाधिकारीसहित सदस्यको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन्। हरिनगरमा नाम चलेको सहकारी भए पनि सहकारीको ऐन, नियमावली र कानुन विपरीत अनियमितता गरेको आरोप छ।
गाईघाट–दिक्तेल सडक कालोपत्रे गर्ने कामले गति लिने भएको छ। ठेक्का लिएर वर्षौसम्म काम ओगट्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने आयोजना कार्यालयको निर्णयलाई अदालतले अन्तरिम आदेश गरेपछि कामले गति लिने भएको हो।
सिन्धुलीको दुधौली नगरपालिकाले कमला नदीमा विषादी प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जरिवानाको व्यवस्था गरेको छ । पछिल्लो समयमा नदीमा विषादीको प्रयोग बढ्दै गएको छ । यसको अन्त्य गर्न विषादी प्रयोग गरी माछा मारेको पाइएमा सात हजार पाँच सय रुपियाँसम्म जरिवाना र प्रचलित कानुनअनुसार कारबाहीको व्यवस्था गरेको दुधौली नगरपालिकाले जनाएको छ ।
छोराछोरीप्रति हुने विभेद अन्त्य गर्न भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । छोरी जन्माउने आमालाई पालिकाले प्रोत्साहनस्वरूप नगद तीन हजार रुपियाँ प्रदान गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप तीन हजार रुपियाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप उक्त रकम दिने उहाँले बताउनुभयो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले उच्च शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाएको छ । आर्थिक अभावका कारण बीचमै पढाइ छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निःशुल्क शिक्षासम्बन्धी कार्यविधि २०७९ बनाएर शिक्षालाई निःशुल्क बनाएको हो । गाउँपालिकाभित्र ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि मासिक पाँच सय र क्याम्पसका लागि मासिक सात सय रुपियाँका दरले रकम उपलब्ध गराउन थालेपछि गाउँपालिकाभित्र ६७५ जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका हुन् ।
दोलखाको भीमेश्वर नगरपालिका–३, देउरालीडाँडामा रहेको भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा आवास भवन अभाव हुँदा विद्यार्थी अध्ययन गर्ने कक्षामै सुत्न बाध्य छन् । आवासीय विद्यालय भए पनि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विद्यालयमा आवास भवनको समस्या परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले छिमेकी देशमा कोभिड आइसकेकाले नेपाल सचेत रहनुपर्ने बताउनुभएको छ। बिहीबार स्वास्थ्य सेवा विभागको निरीक्षणका क्रममा मन्त्री गिरीले छिमेकी राष्ट्रमा कोरोना देखिएकाले नेपालमा सचेत हुनुपर्ने समय आएको बताउनुभयो।
द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले माघ ९ गते गौतमलाई जन्मकैद गर्ने तल्लो अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुङ्गाले पनि गौतमलाई जन्मकैदको सजाय सुनाएको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आफ्नो फोटो राखेर उपचार सामग्रीको विज्ञापन गरेको भन्दै आपत्ति जनाउनुभएको छ। उहाँले आफ्नो सहमतिबिना फोटो दुरुपयोग गर्नेमाथि प्रहरीले अनुसन्धान गरिरहेको भन्दै बिनास्वीकृति फोटोको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभएको छ।