• ३० वैशाख २०८२, मङ्गलबार

नौ वर्षमा पनि पूरा भएन चार किमी सडक

blog

शालिग्राम नेपाल 

चितवन, साउन २१ गते । नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको चार किलोमिटर सडक निर्माण अहिले थप अन्योलमा परेको छ । भरतपुरमा निर्माणाधीन यो सडकका लागि चालु आर्थिक वर्षमा बजेट नछुट्याएपछि अन्योल बढेको हो । 

भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सकिएको भए पनि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि बजेट नराखेको हो । बहुवर्षीय ठेक्का अन्तर्गत आव २०७१/७२ देखि यसको निर्माण थालिएको थियो । चार किलोमिटर सडक निर्माण गर्न हरेक वर्ष बजेट विनियोजन हँुदै आएको थियो । 

सुस्त निर्माणका कारण आलोचित भएको यो सडक निर्माणको अन्तिम समयमा आएर आव २०८०/८१ मा बजेटले नसमेटेको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले निर्माणको काम सकिनै लाग्दा बजेट नहालेपछि अहिले त्यसको पहल गर्ने काम भइराखेको जानकारी दिनुभयो । “एउटा ठेक्का ९७ प्रतिशत र अर्को ठेक्का ७० प्रतिशत सकिएको छ तर सरकारले यो आयोजना सम्पन्न गर्न बजेट विनियोजन गर्न छुटाएछ । योजनामा नपरेपछि सडक विभागमा पत्राचार गरेका छौँ,” उहाँले भन्नुभयो । 

बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म लागेको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउन ठेक्का गरिएको भए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर चार लेन निर्माण गरिएको छ । 

यो ठेक्काको काम ९७ प्रतिशत सकिएको छ । गौरी पार्वती निर्माण सेवासँग १२ करोड रुपियाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ । अहिले यो सडक सम्पन्न हुन केही काम बाँकी रहेको छ । यो सडकको दुई किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती जडान भइसकेको छ भने फुटपाथको काम बाँकी रहेको छ ।

रायमाझी पशुपति जेभीले ठेक्का सम्झौता गरेर काम गर्दै आएको दोस्रो ठेक्काको कामसमेत ७० प्रतिशत सकिएको छ । मङ्सिर महिनाभित्र पूर्ण रूपमा सम्पन्न गर्ने गरी काम भइरहेको सो ठेक्काका लागि २९ करोड रुपियाँमा सम्झौता भएको थियो । अहिले फुटपाथ निर्माणको काम भइरहेको भए पनि बजेट नहुँदा कार्य पूरा गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । 

“ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेका छन्, कार्यालयसँग बजेट छैन । सम्झौता अनुसार निकासा दिनुपर्ने बजेटसमेत निकासा दिन नसक्दा समस्या भएको छ,” पौडेलले भन्नुभयो । 

यो सडक गत आवमा नै निर्माण सम्पन्न हुनुपर्नेमा बजेटको कठिनाइका कारण काम हुन नसकेको हो । पहिलो चरणको कालोपत्रे गरे पनि बाँकी काम हुन सकेको छैन ।