संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । मङ्गलबारको प्रारम्भिक बैठकले श्रेष्ठको सुनुवाइ प्रक्रिया थालनी गर्दै उजुरी आह्वानको निर्णय गरेको छ । उजुरीका लागि समितिले १० दिनको समय दिएको छ । नेकपा (एमाले) संसदीय दलका सचेतक एवं समिति सदस्य महेश बर्तौलाले सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरिएको जानकारी दिनुभयो । उजुरीको समय सकिएपछि समितिले सुनुवाइका बाँकी प्रक्रिया अघि बढाउने छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी अनुसार कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले राजनीतिक पहुँचका आधारमा कर्मचारी सिंहदरबार वरिपरि रहने प्रवृत्तिको अन्त्य गर्दै दरबन्दी अनुसार खटाइएको स्पष्ट पार्नुभयो । समायोजन तथा सरुवा भएका कर्मचारीबाहेकलाई फिर्ता पठाउने काम भइरहेको उहाँले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मङ्गलबार आयोजित अन्तरसरकार सम्बन्ध सुदृढीकरणमा आमसञ्चारको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मोदीले भन्नुभयो, “काठमाडौँमा अखडा बनाएर बसेका कर्मचारीलाई बाहिर पठाएका छौँ । ३७५ स्थानीय तह निमित्तका भरमा थिए । अहिले १४२ मा झारिएको छ । असारमा सरुवा गर्न समस्या भयो । अब गति दिने छौँ ।”
काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश खोला किनारका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला), मनहरा र टुकुचा (इक्षुमती) सहितका नदी किनार अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाका कारण डुबानमा परेका हुन्। त्यसै गरी ललितपुरको कर्मनासासहित अन्य साना खोला तथा खहरेमा पनि बाढी आएको छ। भक्तपुरका हनुमन्तेसहित अन्य खोलामा जलाधार बढ्दा कैयौँ स्थान डुबानमा परेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले खोला किनारका बस्ती डुबानमा परेको बताउनुभयो।
पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको दोस्रो साता आइपुग्दा मूल्य बढेर ९० रुपियाँसम्म पुगेको छ । गोलभेँडाको बोटमै पुगेर व्यापारीले ९० रुपियाँ प्रतिकिलोका दरले गोलभेँडा खरिद गरिरहेका छन् । “यो वर्ष थोरै गोलभेँडा लगाइयो । गत वर्ष बिक्री हुन गाह्रो भएको थियो । त्यस्तै होला भनेर कम रोपियो । अहिले चाहिँ मजाले भाउ आयो,” मङ्गलबार गोलभेँडा बिक्रीकै लागि इलाम बजार आइपुग्नुभएका माईजोगमाई–५ का महेन्द्र चापागाईंले भन्नुभयो, “यहाँ आफैँ ल्याउँदा त प्रतिकिलो १२० का दरले बिक्री भयो । घरमा ९० रुपियाँले बेचिरहेका थियौँ ।”
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो ।
फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हरायो ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । छ जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो।
प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।
पोखरा २९ को पटनेरीमा रहेको सेतीपुलबाट एक साइकल यात्री नदीमा खसेका छन्।
नवलपुरमा थर परिवर्तन गरी नेपाली नागरिकता लिएकोमा १५ वर्षपछि एक जना पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विविध सांस्कृतिक पहिचान विश्वमा चिनाउने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।
सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।