• ७ मंसिर २०८१, शुक्रबार

सङ्घीय निजामती ऐन छिट्टै

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी अनुसार कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले राजनीतिक पहुँचका आधारमा कर्मचारी सिंहदरबार वरिपरि रहने प्रवृत्तिको अन्त्य गर्दै दरबन्दी अनुसार खटाइएको स्पष्ट पार्नुभयो । समायोजन तथा सरुवा भएका कर्मचारीबाहेकलाई फिर्ता पठाउने काम भइरहेको उहाँले बताउनुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मङ्गलबार आयोजित अन्तरसरकार सम्बन्ध सुदृढीकरणमा आमसञ्चारको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मोदीले भन्नुभयो, “काठमाडौँमा अखडा बनाएर बसेका कर्मचारीलाई बाहिर पठाएका छौँ । ३७५ स्थानीय तह निमित्तका भरमा थिए । अहिले १४२ मा झारिएको छ । असारमा सरुवा गर्न समस्या भयो । अब गति दिने छौँ ।” 

उहाँले सङ्घीय शासन व्यवस्था स्थायित्व हुँदै आएको उल्लेख गर्दै सरुवा प्रणालीलाई व्यवस्थित गर्न गठित समितिको प्रतिवेदन आइसकेको र सोही अनुसार काम गर्न लागिएको बताउनुभयो । 

उहाँले सङ्घीय निजामती सेवा ऐन ल्याउन लागिएको जानकारी दिँदै सङ्घीयता कार्यान्वयनको पहिलो पाँच वर्ष सङ्क्रमणकाल जस्तै भएको तर अहिले प्रदेश र स्थानीय तहमा धेरै उदाहरणीय काम भइरहेकाले अब परिवर्तनकारी तथा अर्थपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश र स्थानीय सरकारका केही कमजोरीलाई लिएर सङ्घीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कर्मचारीलाई रोजेकै ठाउँ चाहिने, दुर्गममा जानै नचाहने, कर्मचारी भएपछि जहाँबाट पनि सेवा गर्नु पर्छ भनेरै सुगमकालाई दुर्गममा सरुवा गरिरहेका छौँ । म रहँदासम्म नमुना काम गरेर प्रशासनिक सुधार गर्ने छु ।”