सप्तरीमा सुरक्षित नागरिक आवास योजना कार्यक्रमका लागि जग्गा छनोट नहुँदा बजेट फिर्ता हुँदै आएको छ। ऋति विपन्न अस्थायी वृद्धवृद्धा अनाथ अपाङ्गता भएका तथा एकल महिलाका लागि सुरक्षित नागरिक आवास कार्यक्रम ल्याइएको हो। यसअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ६०३ घर स्वीकृत भएको हो। जसमध्ये ५३३ घर निर्माण सम्पन्न भएका हुन्। बाँकी ७० घर निर्माणका लागि ठेक्का सम्झौता भए पनि घर बनाउने जग्गा नै निश्चित भइसकेको छैन। जग्गा निश्चित नहुँदा बजेट फिर्ता भएको हो।
खोटाङको रावाबेँसी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा लापरबाही गर्दा १० शøयाको अस्पताल भवन निर्माण अलपत्र परेको छ। रावाबेँसी गाउँपालिका–२, खार्पामा निर्माणाधीन अस्पताल भवनको डीपीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेपछि निर्माणको काम अघि बढ्न नसकेको हो।
प्रदेश १ सरकारका स्वस्थ्यमन्त्री निर्मला लिम्बूले जिल्ला अस्पताल उदयपुरलाई प्रादेशिक अस्पताल बनाइने बताउनुभएको छ। उहाँले जिल्ला अस्पताल गाईघाट उदयपुरको स्तरोन्नतिका लागि पहल भइरहेकाले प्रदेश सरकारले केही दिनमा नै निर्णय गर्ने बताउनुभयो । जिल्ला अस्पताल गाईघाट उदयपुरको निरीक्षण भ्रमणको क्रममा आउनुभएकी मन्त्री लिम्बूले स्वास्थ्य सेवा संवेदनशील भएकाले यसलाई ध्यान दिएर काम गर्न आग्रह गर्नुभएको छ।
सडक विभागका प्राविधिक कर्मचारीहरूको कमजोरी तथा भौतिक योजना र वन मन्त्रालयबीच समन्वय हुन नसक्दा पुष्पलाल मध्यपहाडी पूर्वी क्षेत्र आयोजनाअन्तर्गत घुर्मी–चतारा–सुनकोसी कोरिडोर सडक निर्माणको योजनाबीचैमा अलपत्र परेको छ। उदयपुर जिल्लाको घुर्मीदेखि सुनसरी जिल्लाको चतरा घाटसम्मको १६७ किलोमिटर लामो सडकमध्ये ६० किलोमिटर ट्रयाक खोल्ने भनी २०६७ सालमा टेन्डर आह्वान गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण गर्न सुरु गरेको योजनालाई सडक विभागले निरन्तरता दिन सकेको छैन।
शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘मनसँग मन’ र ‘आँधी तुफान २’ प्रदर्शनमा आएका चलचित्र हुन्। चलचित्र ‘मनसँग मन’मा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको छ। चलचित्रलाई कैलाश राईले निर्देशन गर्नुभएको छ। प्रेमकथा र एक्सन विद्याको चलचित्रमा रवीन्द्र झा र बुद्धि तामाङको पनि अभिनय छ। चलचित्रको एउटा गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासमेत अतिथि भूमिकामा देखिनुभएको छ।
काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा सञ्चालनमा आएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यहाँ निर्माण भएको पूर्वाधार प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता भएको बताउनुभएको छ । चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपालको कृषि क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “परम्परागत कृषिबाट हामीले उत्पादन वृद्धि गर्न सक्दैनौँ । त्यसैले आधुनिक प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो ।”
नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ग्रिड आबद्ध सम्झौता मितिको आधारमा आरओआर आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको पीपीए गर्ने निर्णय गरेको हो ।
सरकारले स्थानीय तहका विभिन्न निकाय, सङ्घसंस्था र व्यक्तिलाई प्रदान गर्ने अनुदान रकमको विवरण सबै स्थानीय तहसँग माग गरेको छ। सङ्घीय सरकारले स्थानीय तहलाई पठाएको विभिन्न शीर्षकको बजेट र स्थानीय तहको राजस्व सङ्कलनबाट प्राप्त बजेट कुन–कुन शीर्षकमा कति खर्च भएको छ भनेर माग गरेको हो। सरकारले सम्पूर्ण खर्च विवरण अबको पाँच दिनभित्र ७५३ वटै स्थानीय तहले सङ्घीय सरकारलाई बुझाउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले अनुदान दिने निकाय, अनुदान पाउने व्यक्ति वा संस्था, अनुदानको प्रभावकारिता, अनुदानले उत्पादन र उत्पादकत्वमा गरेको वृद्धि, रोजगारीको सङ्ख्या, गरिबी निवारणमा पु-याएको योगदानलगायतका विवरण स्थानीय तहसँग माग गरेको छ ।
विवेकशील साझा पार्टी नयाँ शिराबाट अघि बढाउन महाधिवेशनमा होमिएको छ। विवेकशील साझाको पहिलो महाधिवेश सोमबारबाट काठमाडौँमा सुरु भएको छ। कार्यक्रमलाई शुभकामना दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमालको फेदमा बस्नेहरू आर्थिक तथा सामाजिक रूपमा पछि पर्नु दुर्भाग्य रहेको बताउनुभयो।
गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गर्नुभएको छ ।
पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ तर स्थानीय चेतनास्तर र राज्यको बेवास्ताले ‘रुबी’ बेवारिस छ । यहाँ रुबी (रातो पत्थर) बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाइएको हल्ला चल्छ । क्वार्ज (सेतो÷दर्शन ढुङ्गा) यत्रतत्र पाइने स्थानीय बताउँछन् ।
काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक शुक्रबार भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ।