बलेफी गाउँपालिकामा पछिल्लो समय कोठाभित्र बसेर उपभोक्ता समिति गठन गर्ने गरेको पाइएको छ । विधि र प्रक्रियालाई नमानेर गाउँपालिका वडा नम्बर ६ मा निमार्ण हुन लागेको अँधेरी खेलमैदान उपभोक्ता समिति उपभोक्ताहरूको भेला नगराई उपभोक्ता समिति गठन गरिएको छ ।
बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयोे । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिन लागिएको उहाँले बताउनुभयो ।
भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिवंश राठीले जानकारी दिनुभयो । गहुँ पाक्ने सिजन नजिक आएकाले भण्डारण गरिएको गहुँबाट केही आपूर्ति भए पनि मागअनुसार नभएको राठीले बताउनुभयो ।
रुपन्देही जिल्लाभर रगत अभाव भएपछि बुटवलमा नियमित रक्तदान अभियान सञ्चालन गरिएको छ। बुटवलमा क्रियाशील विभिन्न सङ्घसंस्थाले बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न दैनिक रक्तदान कार्यक्रम गर्न अभियान नै थालेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा दैनिक ९० पिन्ट रगत आवश्यक पर्ने बताउनुभयो। बुटवलमा कुनै बेला अति दुर्लभ मानिएको ब्लड ग्रुपको रगत मात्र अपुग हुने गरेकोमा अहिले भने सवै ग्रुपको रगतको माग रहेको उहाँले बताउनुभयो।
मौसमी प्रणालीको विकास नहुँदा आज देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागमा आज पनि आंशिक बदली भएको छ तर दिउँसो भने देशैभर सामान्यतया मौसम सफा छ ।
पाल्पाका स्थानीय तहहरूले गरेको सार्वजनिक सुनुवाइ औपचारिकतामा मात्र सीमित हुने गरेको छ। पालिकाको सेवा प्रवाह एवं विकास निर्माणका काम पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ अनिवार्य भए पनि ती कार्यक्रमको प्रभावकारिता शून्यजस्तै देखिएको छ। स्थानीय तहले नागरिकका गुनासा सुन्नका लागि सार्वजनिक सुनुवाइ गरेको बताउँदै आएका छन्। यस जिल्लाका १० स्थानीय तहमध्ये कतिपयले सार्वजनिक सुनुवाइ गरेका छैनन् भने सार्वजनिक सुनुवाइ गर्ने स्थानीय तहहरूको कार्यक्रम प्रभावकारी हुन नसकेको सेवाग्रहीको गुनासो छ।
पर्वतको कुस्मा नगरपालिका–१२, ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस डाक्टरसहित १० जनाको दरबन्दी रहेको छ तर अहिले करारमा रहेका स्वास्थ्य सहायक ‘एचए’ले निमित्तका रूपमा स्वास्थ्य केन्द्र चलाउँदै आएका छन्। दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। डा. विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै डाक्टर आएका छैनन्।
दुल्लु नगरपालिका–२, बडापोखरा गाउँ सुक्खाक्षेत्र गाउँ हो। डाँडामा बस्ती छ। पानीका मुहान वरिपरि छैनन्। घण्टौँ हिँडेर खानेपानी ल्याउनुपर्ने त्यहाँका बासिन्दा र गाउँको परिचय अहिले भने फेरिएको छ। त्यो गाउँमा अहिले व्यावसायिक तरकारी खेती भइरहेको छ। कुनै बेलाको सुक्खा गाउँ अहिले तरकारी गाउँका रूपमा परिचय नै फेरिएको छ।
उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारी वकिलको कार्यालय, कैलाली जिल्ला अदालत र कैलाली कारागारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश देशबहादुर सार्कीको एकल इजलासले फागुन ३ गते ११ बजेभित्र लिखित जवाफ पेस गर्न आइतबार आदेश जारी गरेको हो। १३ वर्षअघि ट्याक्टरमा आगलागी भएको घटनामा कैलाली जिल्ला अदालतले दोषी ठहर गरेपछि सांसद चौधरीलाई गत साता पक्राउ गरी कारागार चलान गरिएको थियो। सो फैसला गैरकानुनी रहेको भन्दै चौधरीले उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गर्नुभएको थियो।
बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पु-याउन १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार बैतडीका १० स्थानीय तह र ८४ वडामा करिब ४५ हजार घरधुरी छन्। पहुँचबाट टाढा रहेका घरमा खानेपानी पु-याउन आठवटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा छन्।
दोलखा समाज अस्टे«लियाबाट प्राप्त विपन्न तथा जेहेनदार छात्रवृत्ति भीमश्वर नगरपालिका–४, जिलुमा रहेको सर्ब माध्यमिक विद्यालयमा अध्ययनरत जनजाति समुदायका दुई छात्रालाई वितरण गरिएको छ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकार माओवादीका लागि चुनौती र अवसर दुवै भएको बताउनुभएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेमा रत्नराज्य माध्यमिक विद्यालयको भवन निर्माण भएको छ। विद्यालय परिसरमा छवटा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माण गरिएका छन्। भवन निर्माणमा एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको विद्यालय प्रशासनले जनाएको छ। भूकम्पपछि टहरामा बसेर कष्टपूर्वक अध्ययन गरेका बालबालिकाले अत्याधुनिक भवनमा बसेर पढ्न पाएका छन्।
वर्तमान सरकार गठन हुँदा देशको अर्थतन्त्र सहज अवस्थामा थिएन। सरकार गठनसँगै राष्ट्रिय अर्थतन्त्रमा देखिएका समस्या निराकरणका निमित्त विभिन्न पहल थाल्नु आवश्यक थियो। सरकारले कामको सुरुवात नै अर्थतन्त्रको सुधारमा गरिने विभिन्न पहलबाट थालिएको छ। त्यसक्रममा मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधारलाई पहिलो तथा महत्त्वपूर्ण प्राथमिकता दिइयो। सरकारले विभिन्न प्रयत्नबाट अर्थतन्त्र सुधारका निम्ति चालेका कदमबाट सकारात्मक प्रभावसमेत पर्न थालेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणबाट दबाब परेको अर्थतन्त्रलाई उपयुक्त मार्गमा ल्याउने पहलस्वरूप सरकारले बजेट