• १८ वैशाख २०८२, बिहिबार

निगुरो टिपेर बालबालिकाद्वारा पढाइ खर्च जोहो

blog

इनरुवा भाण्टाबारी सडक खण्डमा एक बालक निगुरो बिक्री गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, भदौ ९ गते । सुनसरीको कोशी गाउँपालिका क्षेत्रका बालबालिकाले कोशी किनार र सिमसार क्षेत्रमा निगुरो टिपेर पढाइ खर्च जोहो गर्दैआएका छन् । 

यहाँका बालबालिकाले कोशी किनार र सिमसार क्षेत्रमा प्राकृतिक रूपमा उम्रेको निगुरो टिपेर पढाइ खर्च जोहो गर्दैआएका हुन् । कोशी ७ का स्थानीय सुमन यादवका अनुसार बालबालिकाले ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै मध्य तथा दक्षिणी कोशीका बालबालिकाले दैनिक निगुरोको साग बिक्री गरेर पढाइ खर्च जोहो गरेको बताएका छन् । 

बालबालिकाले असारदेखि कात्तिक महिनासम्म दैनिकजसो बिहानै सीमसार र कोशीटप्पुको जङ्गल गई २० मुट्ठादेखि १०० मुट्ठासम्म निगुरो ल्याउने र राजमार्गमै राखेर बिक्री गरेर पढाइ खर्च जुटाइरहेको यादवले बताउनुभयो । 

स्थानीय रामु सदाका अनुसार शुक्रबार, शनिबार र विद्यालय बिदाका दिन कोशी किनार र सिमसार क्षेत्रमा निगुरो टिपेर हरिपुर, भाण्टाबारी, लौकहीलगायतका बजारमा बिक्रीका लागि लैजाने गरेका छन् ।

कोशीटप्पु क्षेत्रमा पाइने निगुरो टिप्नका लागि दर्जनौँ बालबालिका एकाबिहानै निगुरोको साग टिपिरहेको भेटिनेगरेको कोशी–१ लौकहीका पवन रौनीयारले बताउनुभयो ।

गरिब, दलित तथा विपन्न समुदायका बालबालिका हरेक दिन बिहान ५ देखि ८ बजेसम्म कोशीक्षेत्रमा त्यसरी निगुरोको साग टिप्ने खोजीमा प्रतिस्पर्धा गरिरहेको पाइएको रौनीयारको भनाइ छ ।

निगुरोको साग बेचेर दैनिक दुई सयदेखि आठ सय रुपियाँसम्म आम्दानी गर्नेगरेको कोशी गाउँपालिका–७ का १६ वर्षका दीपेश ऋषिदेवले बताउनुभयो । ऋषिदेवका अनुसार लगानी गर्नु नपर्ने केवल समय लगाएर मिहेनतका साथ निगुरोको साग खोजेर टिप्नु र त्यसलाई बिक्रीगरी आएको आम्दानीबाटै पढाइ खर्चसँगै घरमा समेत आर्थिक सहयोग गरिरहेका छन् । 

पौष्टिक रूपमा समेत राम्रो मानिने निगुरोको सागको बजारसमेत राम्रो भएकाले बालबालिका निगुरो साग टिप्नका लागि उत्साहित भएको कोशी ७ का वडा अध्यक्ष लालदेव सदाले जानकारी दिनुभयो ।

प्रतिमुठा १० रुपियाँदेखि ५० रुपियाँसम्ममा त्यस क्षेत्रमा बालबालिकाले निगुरोको साग बेचे पनि व्यापारीले लौकही, इनरुवा, इटहरी, धरानलगायतको बजारमा लगेर प्रतिमुठा २० रुपियाँदेखि ६० रुपियाँसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो ।