नेपाली टेबलटेनिस टोली २६ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्ने भएको छ । भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा संयोग कपाली, रुविन महर्जन, विलोश श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापाले भाग लिनुहुने छ । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुङ्गेल रहनुभएको छ । नेपालले पुरुष/महिला एकल, डबल्स, टिम र मिक्स स्पर्धा गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (शुक्रवार) अन्तिम सुनुवाइ गर्दै छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
वर्तमान राजनीतिलाई केन्द्रमा राखेर बिहीबारदेखि व्यावसायिक प्रदर्शन सुरु भएको “ऐँचै पैँचो” ले दर्शकको मन जित्न थालेको छ । आफू स्थापित हुन राजनीतिकर्मीले के के गर्छन् भन्ने देखाइएको फिल्मले राजनीतिज्ञ र राजनीतिकर्मी सही ढङ्गले नचले जनताले विकल्प खोज्छन् भन्ने पनि देखाइएको छ ।
चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।
बागमती प्रदेशले दोलखाका दुई वटा महत्वपूर्ण सडक निर्माण गर्ने भएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय हेटौँडा र पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत दुई मुख्य सडकको बोलपत्र आह्वान भई प्रक्रिया सुरु गरिएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो।
करिब दुई दशकअघि गोलन्जोर गाउँपालिका–६, बासेश्वरकी विमला श्रेष्ठ विवाह भएर सुनकोसी नजिकै घरमा पुग्दा निराश बन्नुभएको थियो। सोही ठाउँमा दिन कटाउनुभएकी श्रेष्ठलाई अहिले भने नसोचेको खुसी मिलेको छ। घरमुनिबाट बनेको मध्यपहाडी लोकमार्गको दायाँबायाँ बारी परेपछि खुसी लागेको उहाँले सुनाउनुभयो। त्यही बारीमा उब्जिने खाद्यान्नबाट उहाँको परिवारलाई छ महिना पनि खान पुग्दैन थियो। अहिले भने बारीको कुना (छेउ) घडेरीका रूपमा बेच्दा करोड रुपियाँ हात पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।
धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये लक्ष्मीनियाँ गाउँपालिका पनि एक हो। साबिकका तीन वटा गाविस समावेश गरी बनेको यस गाउँपालिकाको नाम लक्ष्मीनियाँ माई स्थानको नामबाट राखिएको छ। सात वटा वडा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ भने कुल जनसङ्ख्या ३१ हजार ८८१ छ। उत्तरमा बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका, दक्षिणमा जनकपुरधाम उपमहानगरपालिका, पूर्वमा मिथिला विहारी नगरपालिका र पश्चिममा महोत्तरीको भङ्गहा नगरपालिका पर्दछ। स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधार विकासले गति लिएसँगै यहाँको सडक हिलाम्मेबाट पक्कीमा परिणत भएका छन्। एक वर्षको कार्यकालमा लक्ष्मीनियाँ गाउँपालिकाले गरेका विकास निर्माण कार्य एवं भावी योजनालगायतका विषयमा केन्द्रित रहेर लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रसँग गोरखापत्रका जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :
पूर्व–पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडकखण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन। नेपाल सरकारको रूपान्तरणकारी गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम लोकमार्गको पहिलो चरणमा सिराहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन सडक बिस्तारको काम भइरहेको छ। उक्त लोकमार्गको सहरी क्षेत्रमा भने छ लेनको सडक निर्माण गरिने छ।
नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुवै देशको संयुक्त आर्थिक सहयोगबाट अघि बढाउन लागिएको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम भदौ १३ देखि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । कम्प्याक्ट कार्यक्रमका पाँच वर्षभित्रै सम्पन्न हुने सुनिश्चितताका लागि पूर्वसर्तहरू तथा तयारी कार्य पूरा भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसी सम्झौता सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्डले कार्यान्वयनपत्र आदानप्रदान गर्नुभएको छ । यससँगै परियोजनाको कामले तीव्रता पाउने छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण र रणनीतिक सडक सञ्जालमा लगानी हुने यो सम्झौ
जनताको चाहनाविपरीत अगाडि बढेका राजनीतिक पार्टी जनताबाट पराजित हुनु पर्छ भन्ने कुरा सधैँ स्मरण गरेर देश र जनताको पक्षमा समर्पित भई काम गर्नु दल तथा नेतृत्वको प्रमुख दायित्व हो । सामान्यतया विकासोन्मुख मुलुकमा जनताले पार्टी तथा नेतृत्वलाई गरिब, श्रमिक तथा पछाडिएका वर्ग तथा क्षेत्रको पक्षमा स्पष्ट कार्यदिशासहित इमानदार भएर काम गरोस् भन्ने अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले जनतामा पार्टी तथा नेतृत्वले राम्रो छाप पारेर काम गर्न जनताको अपमान हुने कुनै पनि गतिविधि कहिल्यै हुन दिनु हुँदैन, जनताको भावना अनुकूल समाज परिवर्तनका लागि ऐक्यबद्धता जनाएर जनतालाई साथमा लिई निरन्तर काम गर्नु पर्छ ।
पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।
वासुदेव पौडेलरगण्डकी, भदौ १५ गते । पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय ।समुदायको सक्रियतामा २०५८ सालमा बाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको थियो । पाठकहरूलाई लक्षित गरी पुस्तकालयलाई समयसापेक्ष थप व्यवस्थित बनाइएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिनुुभयो ।उहाँका अनुसार पुस्तकालयमा विभिन्न कक्षहरू तयार गरिएको छ । ती कक्षहरूमा दिनानुदिन विद्यार्थी तथा पाठकहरू आउने गरेका छन् । पुस्तकालयमा प्रवेश गर्नासाथ भित्तामा झुन्ड्याइएका पोखरा र आसपासका तालतलैयाका तस्वीर, यस आसपासका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका तस्वीर तथा वेषभूषा आदिले जो कोहीलाई यस क्षेत्रको मौलिकता बुझ्न सहयोग पुर्याउने गरेको छ ।पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौनालगायतका सामान राखिएका छन् । यसका अतिरिक्त पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आएको भण्डारीले जानकारी दिनुुभयो । पुस्तकालयमा आएर बालबालिकाले आफ्ना रुचिअनुसारका पुस्तक पढ्नुका साथै खेल्ने र विभिन्न मौलिक सिर्जनासमेत गर्ने गरेको उहाँले बताउनुभयो ।पुस्तकालयको महिला कक्षमा महिलासम्बन्धी बैठक, तालिम, गोष्ठी गरिनुका साथै त्यहाँ महिला अधिकार, महिला स्वास्थ्य, शिशु स्वास्थ्यजस्ता पत्रपत्रिका, पाठ्यसामग्री आदि राखिएको छ । उक्त कक्षबाटै हरेक महिना महिला तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ । पुस्तकालयकै सक्रियतामा दीपशिखा महिला कृषि सहकारीसमेत सञ्चालनमा आएको र सहकारीमा हाल चार सय ५० जना महिला आबद्ध रहनुुभएको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिनुुभयो । सहकारीले कृषिसम्बन्धी तालिम साथै आलुको बीउ उत्पादन गर्दै बिक्री–वितरणसमेत गर्दै आएको छ । यस वर्षमात्रै सहकारीले आफ्ना सदस्यलाई वितरण गरी ५० किलोग्राम तौलका एक सय १४ बोरा आलुको बीउ बिक्री गरेको थियो ।पुस्तकालयले रिड नेपालसँगको सहकार्यमा ५५ जना किरोशीलाई प्रविधि, नेतृत्व विकास, सशक्तीकरण एवं जीवनोपयोगी तालिमसमेत सञ्चालन गर्दै आएको छ । उक्त तालिमले उनीहरूमा सशक्तीकरण एवं विभिन्न क्षमता अभिवृद्धि गराएको पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले बताउनुभयो ।पुस्तकालयमा रहेको श्रव्यदृश्य कक्षमा कृषि, वातावरणजस्ता उपयोगी श्रव्यदृश्य सामग्री देखाइने र निरक्षर व्यक्तिसमेत यसबाट लाभान्वित बन्ने गरेका छन् । पुस्तकालयमा श्रव्यदृश्यसमेत देखाउन मिल्ने सुविधा सम्पन्न ८० जना व्यक्ति बस्न सक्ने किसिमको तालिम कक्षको व्यवस्था गरिएको छ । तालिम कक्षमा विभिन्न सङ्घसंस्थाले बैठक तथा सेमिनार गर्ने गरेका छन् । बैठक तथा सेमिनार कक्ष प्रयोग गरेवापत सेवा शुल्क रु दुई हजार ५०० लिने गरिएको र उक्त रकमले पुस्तकालयको सञ्चालनमा राहत पुग्ने गरेको छ ।खेलकुद तथा सङ्गीत कक्षमा युवाहरूलाई लक्षित गरी विभिन्न खेलकुद र वाद्यवादनका सामग्री राखिएका छन् । पुस्तकालय क्षेत्रका बाल क्लब तथा युवा क्लबहरू यस कक्षबाट लाभान्वित भएका छन् । पुस्तकालयको कम्प्युटर कक्षबाट इमेल, इन्टरनेट, कम्प्युटर शिक्षा उपलब्ध गराइएको छ । यस कक्षमा महिला, शिक्षक, बालबालिका र युवाहरूलाई कम्प्युटर शिक्षा तथा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उहाँले बताउनुुभयो । पुस्तकालयमा आएर आधारभूत कम्प्युटर तालिमसमेत निःशुल्क उपलब्ध गराइने गरिएको र त्यसबाट धेरै व्यक्तिहरू स्वरोजगार बन्न सफल बनेका छन् ।पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार पाँच सयभन्दा बढी पुस्तक रहेका छन् । पुस्तकालयमा एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको बताउँदै कार्यालय प्रमुख पहारीले विभिन्न विधाका पुस्तकका अतिरिक्त विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध रहेको जानकारी दिनुभयो ।पुस्तकालयमा समाजमा प्राचीनकालदेखि दैनिक जीवनमा प्रयोगमा आउने गरेका सामग्रीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ सङ्कलन गरी राखिएको छ । “पुस्तकालयमा पाठक सदस्यता निःशुल्क व्यवस्था गरिएको छ, परिचयपत्रवापत रु एक सयमात्र लिने गरेका छौँ”, उहाँले भन्नुुभयो, “विद्यार्थी तथा पाठकका लागि पुस्तक घरमा लान सकिने व्यवस्था मिलाइएको छ ।”पुस्तकालयले अघिल्लो वर्ष देशकै नमूना सामुदायिक पुस्तकालयको कदरपत्र नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट पाएको थियो । नगर विकास कोष, तत्कालीन लेखनाथ नगरपालिका र स्थानीय जनसहयोगबाट पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भएसँगै यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुुगेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगसँगै भवनमा रहेका सटरलाई भाडामा लगाएर पुस्तकालयको सञ्चालनमा आर्थिक स्रोत जुटाउने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।“सानो–सानो सहयोगबाट बचत गर्दै पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि रु १८ लाखको अक्षकोष स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकालयको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नका लागि करार सेवामा एक र स्थायी सेवामा दुई जना कर्मचारीको व्यवस्था गरिएको छ ।”पुस्तकालयमा हालसम्म एक सय ५२ जना आजीवन सदस्य रहनुुभएको छ भने २५ वटा संस्था संस्थागतरूपमा आजीवन सदस्य रहेका छन् । हाल साधारण सदस्यको सङ्ख्या दुई सय रहेको छ भने दैनिक पुस्तकालयमा आउने पाठकको सङ्ख्या ४० देखि ५० जना रहेको छ । पुस्तकालयले वार्षिकपमा पाठकको रुचिअनुसारका नयाँ–नयाँ पाठ्पुस्तक नियमित किन्दै आएको छ ।नवीनतम् प्रविधिको प्रयोग गरिएको पुस्तकालयले प्रत्येक वर्ष पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ, हिज्जे, निबन्ध, वक्तृत्वकला, वादविवाद प्रतियोगिताका साथै निरन्तर शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ । पुस्तकायलकै सक्रियतामा युवाका लागि जीवनोपयोगी सीपमूलक तालिम, मोबाइल मर्मत, हाउसवायरिङ, ब्यूटीपार्लर, सिलाइकटाइ, गुडिया बनाउने मौरीपालनजस्ता थुपै तालिम प्रदान गरिसकिएको छ ।समाजमा पढ्ने भावनाको विकाससँगै आयोगको तयारी गर्ने पनि लाभान्वित पुस्तकालय सञ्चालनले आसपासका युवाहरू आफ्नो फुर्सदको समयलाई पढ्ने काममा उपयोग गर्ने गरेका छन् । विश्वविद्यालय तथा क्याम्पसको थप अध्ययन एवं छात्रवृत्तिका लागि तयारी एवं लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीले पुस्तकालयको उपयोग गर्ने गरेको भण्डारीले जानकारी दिनुभयो । “समाजमा जथाभावी हिँड्ने, होहल्ला गर्ने प्रवृत्तिलाई पनि पुस्तकालयले न्यूनीकरण गर्न मद्दत पुर्याएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सचेतनासँगै पठन संस्कृतमा जागरण ल्याउन पुस्तकालय बरदान सावित बनेको छ ।”सामुदायिकस्तरबाट सञ्चालनमा आएको दीपशिखा पुस्तकालयले समाजमा सचेतनासँगै जागरणका लागि पुर्याएको योगदान देशका अन्य स्थान र समुदायका लागि पनि प्रेरणादायी रहेको पत्रकार विष्णुहरि पौडेलले बताउनुहुन्छ । “दीपशिखा पुस्तकालय समाजमा सचेतना अभिवृद्धि र जागरणका लागि सेतु बनेको छ”, पौडेलले भन्नुभयो, “सामुदायिक प्रयासबाट स्थापित बनेको यसको दीर्घकालीन सञ्चालन र प्रभावकारी व्यवस्थापनका लागि राज्यको सहयोग अपहिरार्य छ ।”संस्थागत रुपमा नै पुस्तकालय दिवसपछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा सरकारले संस्थागतरूपमा नै पुस्तकालय दिवस मनाउन थालेको १५ वर्ष पुगिसकेको छ । प्रत्येक वर्षको भदौ १६ गते मनाइने पुस्तकालय दिवस यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरिएको छ । सरकारले देशैभरका स्थानीय तहलाई पठन संस्कृतिको विकासमा सहयोग गर्न विभिन्न कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन निर्देशन दिएको छ ।नेपालमा १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्ध विक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ स्थापना गर्नुभएको थियो । उक्त समयमा पुस्तकालयको रेखदेखका लागि पं केदारनाथ झालाई जिम्मेवारी दिइएको थियो ।पुस्तक चिताइ तहबिलका रूपमा पुस्तकालयसम्बन्धी पहिलो कानुन बनेको उक्त त्यही दिनको स्मरण गर्दै नेपालमा २०६५ सालदेखि औपचारिकरूपमा पुस्तकालय दिवस मनाउँदै आइएको हो । पछिल्लो तथ्याङ्कले नेपालमा सामुदायिक पुस्तकालयको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ ।सामुदायिक जागरणका लागि पुस्तकालय अपरिहार्य भएको ठहर गर्दै तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बौद्धिक व्यक्तित्वहरूले प्रधानमन्त्री भीमशम्शेरका पालामा पुस्तकालय स्थापना गर्दा १९८७ सालमा ‘लाइब्रेरी पर्व’ भएको थियो । त्यस समयमा पुस्तकालय स्थापना गरेवापत तत्कालीन सरकारबाट उहाँहरूलाई जनही रु एक–एक सय जरिवाना तिराइएको थियो । सोह्रौँ पुस्तकालय दिवसका अवसरमा दीपशिखा पुस्तकालयमा नाटक प्रदर्शनी, गायन तथा नृत्य, कविता वाचन, पुस्तकालयसम्बन्धी चित्र प्रदर्शनी आदि कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । रासस
म्याग्दी, भदौ१५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उहाँले भन्नुुभयो, “सबै बोटमा फल लागेको छ ।” गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ ।गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८÷७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियोे ।आव २०७७÷७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा रोपिएका थिए । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताउनुुभयो । “हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो”, उहाँले भन्नुुभयो, “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।”यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।” रासस
नेपालको सबैभन्दा लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले चुनौतीको चाङमा उभिएको छ । गत सालको स्थानीय चुनावबाट नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्नुका साथै मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा चुनावबाट नेपाली जनताले प्रतिनिधि सभामा पनि सबैभन्दा ठुलो पार्टी बनाएर पठायो । प्रदेशमा कुनै ठाउँमा ठुलो पार्टी र कुनै प्रदेशमा दोस्रो स्थानका लागि निर्णायक मत पाएको छ । अहिले कांग्रेस सङ्घीय सरकारदेखि प्रदेश सरकारमा प्रमुख सत्ता
मानिस–मानिसबिच भावना र विचार आदानप्रदान गर्न भाषाको आवश्यकता पर्दछ । बच्चाको कलिलो मस्तिष्कमा परिवार र समाजको सङ्गतले भाषा भरिँदै जान्छ । मानिसले सिक्ने सबैभन्दा पहिलो भाषा नै मातृभाषा हो, यो आमाको काखबाट नै सिकिन्छ । यसले राष्ट्रिय संस्कृतिको संरक्षण गर्दै राष्ट्रप्रेमको भावनामार्फत मानिसलाई राष्ट्रियतासँग जोड्छ । नेपाल बहुभाषिक मुलुक हो, भाषिक विविधता नै यहाँको विशिष्ट पहिचान भएकाले राष्ट्रियताको संरक्षण, संवर्धन र विकासको पक्षमा वकालत गर्नु अपरिहार्य हुन्छ ।