• १ जेठ २०८२, बिहिबार

दोलखाका दुई वटा महत्वपूर्ण सडक निर्माण हुँदै

blog

दोलखा समाचारदाता

दोलखा, भदौ १५ गते । बागमती प्रदेशले दोलखाका दुई वटा महत्वपूर्ण सडक निर्माण गर्ने भएको छ।  प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय हेटौँडा र पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत दुई मुख्य सडकको बोलपत्र आह्वान भई प्रक्रिया सुरु गरिएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो।  

गत महिना मेलुङ गाउँपालिकामा पर्ने नयाँपुल–पवटी–डाँडाखर्क सडक कालोपत्रे र बिगु गाउँपालिकास्थित सिँगटी–लादुक–बुलुङ–लामाबगर सडकको निर्माण प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो। 

सिँगटी–लादुक–बुलुङ–लामाबगर सडकको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले बोलपत्र आह्वान गरेको छ। 

सडक निर्माणको सम्झौतामा १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने छ। लादुक–बुलुङ–लामाबगर सडकको कालोपत्रे गर्नुपूर्व स्तरोन्नतिको काम हुनेछ। सिँगटी बजारको डेढ किलोमिटर पछाडिबाट सात किलोमिटर सडकखण्डको स्तरोन्नति र कालोपत्रेको काम हुनेछ। यो योजना अन्तर्गत ग्राभेल, नाली, ग्याबिन वाल, मेसिनरी वालको काम हुनुका साथै आरसिसी ढलान पनि हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो। 

उहाँले बिगु गाउँपालिकाको सिँटीदेखि लादुक जोड्ने सडक निर्माणका लागि करिब २० करोड रुपियाँ बराबरको ठेक्का निकालेको बताउनुभयो। 

मेलुङ पालिकासँग जोडिएको १९ किलोमिटरको नयाँपुल–पवटी–डाँडाखर्क सडकको बाँकी खण्ड निर्माणका लागि पनि ठेक्का प्रक्रिया अघि बढेको हो। यातायात पूर्वाधार निर्देशनालयले असार अन्तिम हप्तासम्म सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरेकोमा नौ वटा आवेदन परेका छन्। अहिले बोलपत्र मूल्याङ्कनको काम भइरहेको छ। निर्माण कम्पनी छनोटको काम सकेपछि दसैँतिहारपछि काम सुरु हुने बताइएको छ। 

एडिबीको ऋण सहयोगमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रम अन्तर्गत यी सडक कालोपत्रे हुन लागेका हुन्। नयाँपुल–पवटी–डाँडाखर्क जोड्ने सडक कालोपत्रे गर्न १९ करोड १८ लाख रुपियाँको ठेक्का प्रक्रियामा रहेको छ। दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सो सडकको चौडाइ साढे पाँच फिटको हुनेछ भने नाला निर्माण गरी कालोपत्रे गरिने छ। केही वर्षअघि मात्रै सङ्घीय सरकार र एडिबीको २८ करोड रुपियाँ बजेटबाट साढे १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ। 

पालिका अध्यक्ष हीरा थोकरले बाँकी खण्डको स्तरोन्नति र कालोपत्रेपछि गाउँपालिकावासी प्रत्यक्ष लाभान्वित हुने जानकारी दिनुभयो। यो सडक पक्की भएपछि मेलुङका मात्रै नभएर शैलुङ गाउँपालिकाका केही क्षेत्रका नागरिकका लागि सहज हुने बताउनुभयो।