कालीकोटको कोटवाडा विमानस्थलमा हवाईजहाज अवतरण होला त ? भनेर प्रश्न गर्नेले सैँतीस वर्ष बिताइसकेका छन्। सो विमानस्थल २०४२ साल जेठदेखि निर्माण थालिएको थियो। सदरमुकाम मान्मदेखि पाँच घण्टा टाढाको दूरीमा रहेको कोटवाडा विमानस्थल निर्माणमा ३५ जना मजदुरले ज्यानसमेत गुमाइसकेका छन्। २०५८ सालको त्यो त्रासदी घटनामा धादिङको जोगीमाराका १७ जना मजदुरले ज्यान गुमाएका थिए। स्थानीय कृष्ण विष्टको घरमा बसेका ती मजदुरलाई सशस्त्र द्वन्द्वरत माओवादीको आशङ्कामा सेनाले कारबाही गरेको थियो। सो घटनामा छ महिनाको बालकसहित ३५ जनाले ज्यान गुमाएका थिए। ती मृतकको शवसमेत सेनाले बन्दै गरेको विमानस्थल क्षेत्रभित्रै गाडेका थिए।
चर्काे ब्याजमा लाखौँ रुपियाँ ऋण लिँदा दाङ जिल्लामा केही परिवारको उठिबास लाग्ने अवस्था आएको छ । मिटरब्याजमा लगानी गर्नेले महँगो ब्याज कबोलेर ऋण दिने र अनेकौँ जालझेल गरेर पैसामा ठगीसँगै दुःख दिन थालेपछि पीडित परिवारको उठिबास लाग्ने अवस्था आएको हो । पीडित परिवारमध्येकी एक हुनुहुन्छ घोराही उपमहानगरपालिका–१० निवासी सीमा विक घमाल ।
‘मन्नी मन्नी वयन चीउ भया’ (धेरै धेरै राम्रो छ भाइ) सरुमारानी–६, बूढीचौर प्युठानकी हिमा कुसुन्डाले आफ्नो भाषामा सामाजिक सञ्जालमा भाइको फोटोमा प्रतिक्रिया लेख्नुभयो । यस्तै गुर्भाकोट–५, कुर्मी सुर्खेतका तेजबहादुर कुसुुन्डाले फेसबुकमा सामूहिक फोटा राख्दै लेख्नुभयो, ‘टोक मन्नी वयन चीउ’ (हामी धेरै राम्रा छौँ ।) कुसुन्डा भाषा लोप हुने हो कि भन्ने चिन्ता बढिरहेको समयमा नयाँ पुस्ताका कुसुन्डा समुदायले भाषा अभ्यास सुरु गरेका छन् । आफ्नो भाषामा लेख्न र बोल्न पाउँदा अपनत्व अनुभव हुने गरेको हिमा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबैको आफ्नो भाषा छ, हाम्रो पनि छ, फरक यति हो– हाम्रो भाषा लोप हुने हो कि भन्ने चिन्ता छ । यस कारण पनि जाने जतिका शब्द राखेर वाक्य बनाएर सार्वजनिक गर्ने गरेका छौँ ।”
“विद्यालय पुग्न खोला पार गर्नुपर्छ तर खोलामा पुल छैन । पानी पर्दा ठूलो भेल आउँछ । करिब एक हप्तासम्म पानी घट्दैन । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक पटक लडिएको छ । कैयौँपटक किताब र झोला भिजेका छन् । केही साथी चोटपटक लागेर घाइते हुनुभएको छ ।” विजयनगर गाउँपालिकाको शिव माध्यमिक विद्यालय डालपुरमा कक्षा १० मा अध्ययनरत रञ्जु कुर्मी विद्यालय पुग्दाको व्यथा सुनाउँदै भन्नुहुन्छ, “सरकार हामी विद्यालय जाने बाटोमा पुल देउ !”
आसन्न मङ्सिर ४ गतेका लागि सङ्घ तथा प्रदेश निर्वाचनको मिति घोषणा भएसँगै नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । चुनावी अभियानका क्रममा गाउँबस्ती तथा घरदैलो भेटघाटमा रहनुभएका वरिष्ठ नेता पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्न स्थानीय नेता तथा कार्यकर्ताले माग गरेका छन् । कांग्रेस पार्टीले मात्र होइन, गठबन्धनले नै वरिष्ठ नेता पौडललाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्नुपर्ने आवाज उठाइएको छ । बन्दीपुर गाउँपालिका–४, डुम्रेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी वक्ताले यस्तो आवाज उठाएका हुन् ।
नेपाली नारीले मनाउने महान् चाड हरितालिका ‘तीज’को परम्परागत मौलिकपन पछिल्लो समय मासिँदै गएको पाइएको छ। चाडपर्वको नाममा पश्चिमी संस्कार हाबी हुँदै गएकाले तीजको परम्परागत मौलिकपन मासिँदै गएको बताइएको छ। देखासिकीको प्रभावका कारण पछिल्लो समय तीज पर्व मनाउने शैली भड्किलो, तडकभडक एवं विकृतियुक्त बन्दै गएको महिलाबाटै गुनासो सुन्ने गरिएको छ। चन्द्रपुर नगरपालिका–६ की पञ्जमाया तिमल्सिनाले विगतमा मनाइने तीज पर्व र पछिल्लो समयमा मनाइने तीज पर्वको शैलीमा निकै भिन्नता आएको सम्झँदै भन्नुहुन्छ, “पछिल्लो समयमा आधुनिक बाजागाजासहितको ‘म्युजिक सिस्टम’ मा बजाइने छाडा गीतमा नाचेर मनाइने तीजले तीज पर्वको मौलिक संस्कृति गुमेको छ। सानो छँदा गाउँघरमा दिदीबहिनी र छरछिमेक भेला भएर मादलको तालमा दुःख–सुखका लोकभाकाका गीतमा नाचेर मनाइन्थ्यो। घरमै बनेको शुद्ध खाना र शुद्ध मनले बसेको व्रतको सम्झना अहिले पनि झल्झली सम्झना आउँछ।”
प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले अब पहुँचको आधारमा नभएर आवश्यकताका आधारमा स्थानीय तहसँग समन्वय गरेर मात्रै विकास निर्माणका योजना छनोट गरिने बताउनुभएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबीचमा आपसी सहकार्य र समन्वय नहुँदा एउटै कामका लागि तीनतिर बजेट विनियोजन हुन सक्ने र त्यसो हुँदा अन्य कतिपय महŒवपूर्ण काममा रकम अभाव हुने समस्या उत्पन्न हुने गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनालाई अगाडि बढाउने नीति अगाडि सारेको मन्त्री कार्कीले बताउनुभएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित देउरी खोलाको मोटरेबल पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री कार्कीले आफूहरू धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने बताउनुभयो।
करिब आठ वर्षमा मोलुङ खोलाको मान्द्रे दोभानमा मोटरेबल पुल बनेको छ। मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकालाई जोड्ने उक्त पुलको निर्माण कार्य आठ वर्षमा सकिएको हो। १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७० असार ३० गते उक्त पुलको ठेक्का लगाइएको थियो। भ्याटसहित तीन करोड ७५ लाख ५६ हजार ७७८ रुपियाँमा राजेन्द्र–लोकप्रिय जेभी धापासी काठमाडौँले ८० मिटर लामो पुल निर्माणको जिम्मा पाएको थियो। २०७८ चैत २८ गते पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। पुल बनेपछि जिल्लाको पश्चिमी क्षेत्रका सुनकोसी, चम्पादेवी, लिखु गाउँपालिका हुँदै रामेछाप जिल्लासँग ओखलढुङ्गा सदरमुकामदेखि सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ।
बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उहाँविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। राजपरिवारका ज्वाइँसमेत रहनुभएका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो। कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ।
गुल्मीको छत्रकोट गाउँपालिकाले बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णय गरेको छ ।
प्रदेश १ को कृषि क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउनका लागि सार्वजनिक निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरू विषयक कार्यशालामा सहभागीले कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि निजी क्षेत्रको संलग्नता बढाउन आवश्यक रहेको सुझाव दिएका हुन् ।
कुनै व्यक्ति विशेष वा सङ्घसंस्थाद्वारा कुनै निश्चित नियम तथा समयसीमाको ख्याल गरिएन भने दण्डको भागीदार हुनपर्ने अवस्था सिर्जना हुनसक्छ तर संस्थागत वा स्थानीय तहबाट माथिल्ला निकायका परिपत्रलाई बेवास्ता अर्थात् समयमै परिपालना नगरिँदा यसबाट सर्वसाधारणलाई पुग्ने क्षतिको जिम्मेवार को हुने भन्ने सम्बन्धमा गम्भीर बहस हुनुपर्ने स्थिति देखिएको छ। सन्दर्भ जग्गा वर्गीकरणको हो। गत जेठ महिनाको अन्तिम सातातिर सरकारले भूउपयोग ऐन र नियमावली जारी ग-यो। यस नियामवलीअन्तर्गत मुलुकभरका जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसका निम्ति कृषि र गैरकृषियोग्य जग्गालगायत दस विभिन्न क्षेत्रमा जग्गा वर्गीकरण अनिवार्य गरिएको छ। यही वर्गीकरणका आधारमा मात्र अंशवण्डा, किनबेचका साथै कित्ताकाटको काम गर्न सकिने नियमावलीमा उल्लेख छ। नियमित काम नै रोकेर छ महिना पर्खनु पर्ने कार्यसमेत त्यति व्यावहारिक देखिएको छैन।
नेपाली राजनीतिमा आशा र भरोसाको दियो जगाउने व्यक्तित्व हुनुहुन्थ्यो प्रदीप गिरी। क्यान्सरजस्तो असाध्य रोगसँग पौँठेजोरी खेलेरै उहाँ अस्ताउनुभयो। गिरीको भौतिक शरीर अब यस लोकमा रहेन। उहाँको कीर्ति र ख्याति भने कालजयी बनेको छ। समकालीन राजनीतिमा गिरीले थोरै भए पनि सकारात्मक भविष्यको दीप प्रज्वलित गर्नुभएको थियो। राजनीतिलाई कमाउ धन्धाका रूपमा बदनाम गरिएको वर्तमान समयमा गिरीले त्यसलाई गलत साबित गर्ने प्रयत्न गर्नुभएको थियो। उहाँका विचार र चिन्तनले नेपाली राजनीतिलाई सिद्धान्त र निष्ठाको सम्भावनातिर डो-याउने प्रयास गरिरहेको थियो। सायद त्यसैको परिणाम थियो आर्यघाटमा त्यो कोलाहल र भीडभाड। राजनीतिप्रति वितृष्णा फैलाउने विषाक्त भावभङ्गीलाई चुनौती दिँदै थियो त्यस दिन आर्यघाटमा देखिएको असरल्ल भीडले । त्यो भीडमा कुनै राजनीतिक वादको दबाब र प्रभाव थिएन
नाफा कमाउने र आयआर्जन गर्ने उद्देश्यले एकत्रित भएका व्यक्ति, संस्था, कम्पनीहरूले आजभोलि व्यावसायिक सिद्धान्तलाई त्यति अवलम्बन गरेको देखिँदैन। यसले गर्दा वस्तु वा सेवाको उत्पादन, निर्माण, किनबेच वा आपूर्ति गर्ने गराउने पेसा, व्यापार र व्यावसायिक क्रियाकलाप मानव अधिकारमैत्री हुन सकेका छैनन्। फलस्वरूप रातारात धन कमाइ धनी बन्ने सपना बोकी कालोबजारी, सिन्डिकेट, कृतिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती र हैरानी बनाउँदै आएको देखिन्छ। व्यावसायिक क्रियाकलाप हिजोको दिनमा नाफा आर्जन गर्नमा केन्द्रित हुन्थ्यो। आज यसमा परिवर्तन भएको छ। विकासको लहरसँगै उपभोक्ताको रोजाइ, खोजाइ र चाहाना र सन्तुष्टि दिनेमा केन्द्रित हुनु जरुरी बन्दै आएको छ। व्यवसायभित्र उद्योग, व्यापार र वाणिज्यको समष्टिगत रूप उद्योग सञ्चालक वा मालिक, व्यवसाय सञ्चालनमा योगदान दिने कामदार र सेवा उपभोग गर्ने उपभोक्ताबीच त्रिकोणात्मक सुमधुर सम्बन्ध रहेको हुनुपर्ने मान्यता छ।
नेपाल कृषिप्रधान देश हो। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एकचौथाइ योगदान कृषिको छ। किसानको उत्पादनमुखी जीवन पद्धतिले हाम्रो कृषि व्यवसाय चलिरहेको छ। नेपालको भौगोलिक विविधता, हावापानी, माटो र समुचित सिँचाइको प्रबन्धले यहाँ कृषि उत्पादनका हजारौँ अवसर विद्यमान छन्। ठाउँ, माटो, हावापानी र हुर्कंदो बालीनालीका लागि अनुकूल वातावरण भएकाले यहाँको अर्गानिक र स्वस्थ उत्पादन मानव शरीरको निरोगिता र तन्दुरुस्तीको कडी बन्न सक्छ।