• ९ पुस २०८१, मङ्गलबार

पानीसँगै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात

blog

पानी पर्दा हरियो देखिएको रास्कोट क्षेत्रको गुहँवाली तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत १८ गते । शुक्रबारदेखि कालीकोटमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्र अर्थात् जिल्लाको माथिल्लो भागमा हिमपात र असिना पानी परेपछि नागरिकको जनजीवन कष्टकर बनेको छ । असिना पानीको मारमा सबैभन्दा बढी पशुपालक परेका छन् । 

रास्कोटको माथिल्लो क्षेत्र चडिपानीमा राखिएका भेडालाई असिना पानीले समस्या पारेको छ । रास्कोटमा २ घर भएका भेडीगोठाला रङ्गबहादुर खड्काले मुसलधारे पानी र सँगै आउने असिनाले ऊन काटेका भेडा चिसोले मर्ने खतरा रहेको बताउनुभयो । भेडाको ऊन काट्ने सिजन भएको भए पनि असिना पानीले भेडालाई समस्या पारेको उहाँको भनाइ छ ।

गर्मी मौसम सुरु भएकाले ऊन काट्नुपर्छ । यहीबेला लामो समयसम्म पानी पर्ने र पानी रोकिए पनि घाम नलाग्ने भएकाले भेडा समस्यामा परेको उहाँले सुनाउनुभयो । भेडालाई खुला ठाउँमा राख्नुपर्ने भएकाले पानीसँगै आउने असिना र हावाले गर्दा धेरै सास्ती खेप्नु परेको उहाँले बताउनुभयो ।  

पानीले ग्रामीण क्षेत्रमा भने केही राहत भएको छ । जिल्लाको सुक्खा क्षेत्र पचालझरना गाउँपालिका –८ का कृषक मोती संज्यालले दुई दिनदेखि बेलाबखत परिरहेको पानीले गहुँवालीलाई भने राहत भएको छ । 

रास्कोट ४ का भीमबहादुर शाहीले पानी परेसँगै खेतहरू हरिया देखिन थालेको बताउनुभयो । खडेरीले खेतमा छरिएको गहुँबाली पुरै सुकिसकेको थियो । दुई दिन यता परेको पानीले रास्कोट क्षेत्रका खेतबारी हरियाली देखिन थालेको उहाँले बताउनुभयो । 

पानीका कारणले जिल्लामा चिसो पनि बढेको स्थानीयको भनाइ छ । चिसो बढेपछि आउजाउ गर्न समेत समस्या भएको शाहीले बताउनुभयो ।