दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४, झिङ्गौरामा करिब नौ कट्ठा जग्गामा व्यावसायिक स्ट्रबेरी खेती गरिएको हो । रोल्पा र म्याग्दी जिल्ला निवासी दुई जना युवा मिलेर दाङको घोराहीस्थित झिङ्गौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरेको सञ्चालक वीरेन्द्र खड्काले बताउनुभएको छ ।
‘उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन’ नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मङ्सिर ६ देखि १८ सम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मङ्गलबार पत्रकार सम्मेलन गरी सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरूपमा निर्माण गरिएको छ । उहाँले लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अर्बौं रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसाय धराशायी भएका बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थलका रूपमा महोत्सव स्थल बनाएर विरोध देखाउन खोजिएको बताउनुभयो ।
डा. भेषबहादुर थापाको आत्म संस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । पूर्वपरराष्ट्रमन्त्री, पूर्व राजदूत एवम् नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. थापाले मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।
गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको जनाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो ।
सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद विद्याश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट् महायज्ञ सप्ताह सुरु भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले बुधबारदेखि मङ्सिर ११ गतेसम्म महायज्ञ सप्ताह सुरु गर्न लागेको हो । बुढानीलकण्ठ मन्दिरमा दशनामी मठका संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरी महाराजको सङ्कल्प तथा १०८ स्वामी पुरुषोत्तम महाराजको प्रवचनमा सम्पन्न हुने महायज्ञको पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी हुनुभयो ।
बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ नेपालगन्ज किड्स फेस्टिभलको दोस्रो संस्करण आगामी १६ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । आयोजक लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्माले फेस्टिभलको दोस्रो संस्करणमा चार वटा विधालाई महìव दिएको बताउनुभयो ।
आगामी २९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘कागभन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डिपी खनालको शब्द र विकास चौधरीको सङ्गीत छ । गीतमा गौरव पहारी, इओन लिम्बू, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बू र गीता ढुङ्गानालाई प्रस्तुत गरिएको छ । उदय सुब्बा निर्देशित चलचित्रमा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय रहेको छ ।
युवा लागुऔषधको कुलतमा फस्ने समस्या बढ्दो छ । तर यहाँ भने त्यस्तो कुलतबाट उम्केर सचेतनामा सक्रिय भएका छन् । यहाँका युवाले जीवनवाटिका नेपाल स्थापना गरेर युवकयुवती, विद्यार्थी र अन्य समुदायमा समेत लागुऔषध र एचआइभी एड्ससम्बन्धी जनचेतना जगाएका हुन् ।
नेपाली कांग्रेसले कात्तिक १७ गतेको जाजरकोट भूकम्पपीडितका लागि एक हजार घरटहरा निर्माण गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार श्रमदानमै अस्थायी घरटहरा निर्माण गर्ने निर्णय भएको हो । महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मङ्गलबार बसेको पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माण अघि बढाउने निर्णय गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।
मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच छलफल भएको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताउनुभएको छ।