• २१ असार २०८१, शुक्रबार

गुरुकुलका लागि सप्ताह महायज्ञ

blog

काठमाडौँ, मङ्सिर ६ गते । सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद विद्याश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन  गर्न  काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट् महायज्ञ सप्ताह सुरु भएको छ ।

हरिबोधनी एकादशीको अवसर पारेर बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले   बुधबारदेखि  मङ्सिर ११ गतेसम्म महायज्ञ सप्ताह सुरु गर्न लागेको हो ।  बुढानीलकण्ठ मन्दिरमा दशनामी मठका संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरी महाराजको सङ्कल्प तथा १०८ स्वामी पुरुषोत्तम महाराजको प्रवचनमा सम्पन्न हुने महायज्ञको पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी हुनुभयो । 

महायज्ञमा मूल यजमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द र उहाँकी श्रीमती मीरा चन्द रहनुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै आयुक्त चन्दले वैदिक सनातन धर्मको महत्वलाई चिरकालसम्म संरक्षण गर्न गुरुकुल सञ्चालन गर्नु अति नै महत्वपूर्ण रहेकाले त्यसको सञ्चालन र व्यवस्थापनका लागि महायज्ञ सुरु गरिएको बताउनुभयो । श्रीमद्भागवत महापुराणको महत्वबारे चर्चा गर्दै उहाँले महाराजा परिक्षितलाई सर्पले डसेपछि उहाँ मृत्यु शय्याबाट बचाउने उद्देश्यले महाराज सुकदेवले सप्ताह महायज्ञ गरेको र महाराजा परिक्षितले महायज्ञबाट शक्ति आर्जन गरी पुनर्जीवन प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

भागवत महापुराणको महत्वबारे थप चर्चा गर्दै चन्दले भन्नुभयो, “पाप, महापाप, ठगी, अनैतिक, अत्याचार, बेथितिको अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्ने एक मात्र अचुक विधि महायज्ञ रहेको विषय श्रीमद्भागवतमा पनि उल्लेख छ । यसको अनुसरण गर्नु नै उत्तम विधि हो ।” 

उहाँले पापबाट मुक्ति पाउने उत्तम विधि सत्सङ्ग रहेको बताउँदै गुरुकुल सञ्चालनका लागि सुरु भएको महायज्ञमा सबैको सहभागिताका लागि आग्रह गर्नुभयो । 

काठमाडौँको उत्तरपट्टिको शिवपुरी डाँडाको फेदमा रहेको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक बुढानीलकण्ठ चारधाममध्येको एक महत्वपूर्ण धार्मिक स्थलका रूपमा लिने गरिन्छ । सनातन हिन्दु धर्मसँगै बौद्ध धर्मावलम्बीको समेत आस्थाको केन्द्र मानिने बुढानीलकण्ठ मन्दिरमा एउटै शिलाबाट बनेको विशाल मुर्तिमा हरिशयनी एकादशीमा विशेष पूजाआजा तथा मेला लाग्ने गरेको छ ।

जनश्रुति अनुसार नीलकण्ठ नाम गरेका एक किसानले जमिन खन्ने क्रममा उक्त मूर्ति फेला पारेको  किंवदन्ती छ । उनै नीलकण्ठ किसानको नामबाट बुढानीलकण्ठ भनी मन्दिरको नामकरण भएको जनविश्वास छ । त्यहाँ सात आनाको गहिरो पोखरीमा उत्तानो परी अवस्थित रहेको विशाल मूर्तिको लम्बाइ २२ फिट १२ इन्च, १२ फिट १ दशमलव पाँच इन्च चौडाइ र ६ फिट गोलाकार रहेको छ । 

 सप्ताह महायज्ञ मूल समारोह समितिका संयोजक तथा बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजु श्रेष्ठले धार्मिक दृष्टिले अत्यन्तै महìवपूर्ण चारधाममध्येको एकधाम बुढानीलकण्ठ मन्दिरको महìवलाई उजागर गर्न राज्यले विशेष गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । हरिबोधनी एकादशीको अवसर पारेर प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा सप्ताह महायज्ञ तथा कलश यात्रा गरिँदै आएको छ ।