सङ्गीतलाई माया गर्ने युवापुस्ताको कमी छैन । सङ्गीतलाई माया गर्नुको साथै परम्परागत बाजा सिक्नमा पनि उत्साहित छन् अहिलेका युवापुस्ता । “हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ” लोकन्थली निवासी प्रनेश श्रेष्ठ भन्नुहुन्छ, “नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।” ख्वप कलेज, भक्तपुरमा इन्जिनियरिङ अध्ययनरत उहाँलाई सधैँ पढ्नको चटारो हुन्छ। तैपनि इच्छा भए उपाय अनेक भनेझैँ साइन्सको विद्यार्थी भए पनि उहाँको बाँसुरी बजाउने दृढ चाहनाले पढाइलाई कुनै रोकतोक गरेको छैन। समय मिलाएर उहाँले बाँसुरी सिक्न थालेको वर्षदिन भइसक्यो। विभिन्न गीत र लयमा बाँसुरीबाट धुन निकाल्नुहुन्छ ।
इटालीका मजदुरको कथा बोकेर ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव भन्ने नाराका साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौँ दिनमा आइपुगेको छ ।
सुरुका दुई खेलमा जितपछि एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश र क्रिस्टियानो रोनाल्डोको नाम गोल स्कोररमा दर्ता भयो। यी कारणले विश्वकप फुटबलमा यस पटक पोर्चुगलका लागि समूह चरण निकै फलिफाप सिद्ध भयो। समूह एचअन्तर्गत शुक्रबार अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध खेल्दा पोर्चुगलसँग अर्को एउटा लक्ष्य रहनेछ। अन्तिम १६ मा ब्राजिलसँगको भिडन्तलाई टार्ने। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि पोर्चुगल र ब्राजिलबीच खेल भयो भने त्यो दुई महान् टिमबीचको खेल हुनेछ तर हाम्रो र ब्राजिलको चाहना हामी पछि नै भिडौँ भन्ने हो।
समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दा ब्राजिललाई अझै नेमारको सेवा प्राप्त हुने छैन। यद्यपि एक खेलअगाडि नै प्रि–क्वार्टरफाइनलमा पुगिसकेको हुनाले ब्राजिललाई नेमारको अनुपस्थितिले फरक भने पार्ने छैन र उसले नयाँ खेलाडीलाई मौका दिने रणनीति लिने सम्भावना प्रबल छ। यसै पनि ब्राजिलका प्रशिक्षक टिटे क्यामरुनविरुद्धको खेलमा आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने सोचाइमा हुनुहुन्छ।
जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिकको दोस्रो साता जफत गरेको ठूलो परिणामको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । विभागले वातावरण विभाग र महानगरको अनुमति लिएर मात्रै नष्ट गर्नुपर्ने र अनुमति लिने प्रक्रियागत ढिलाइले गर्दा जफत गरेको पेन्ट्स एक महिनासम्म पनि नष्ट गर्न नसकेको स्वीकार गरेको छ । विभागका अनुसार म्याद गुज्रेका र रिलेबलिङ गरेका एक करोड आठ लाख ८० हजार रुपियाँ बराबरका रङ जफत गरी नियन्त्रणमा लिएको थियो ।
कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपियाँ नाफा कमाएको छ । आव २०७९/८० को साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपियाँ आम्दानी गरेको छ । यो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी आठ अर्ब ५० करोड रुपियाँ (करअघि) नाफा भएको प्राधिकरणले जनाएको हो ।
ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।
नेपालमा एचआइभी/एड्सप्रतिको विभेद नघटेकैका कारण सङ्क्रमितहरू खुलेर उपचारमा आउन सकेका छैनन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले समाजमा अझै एचआईभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेका कारण उनीहरू उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा नेकपा (एमाले ) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पार्नु भएको हो ।
खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने ४४ रुपियाँ मूल्य बढेर आएको निगमले जनाएको छ ।
उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । उनीहरू सबै पराजित भए । भक्तपुरको प्रदेश सभाका चार क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । ललितपुर क्षेत्र नं. १ (क)मा माओवादीका उम्मेदवार पराजित भए भने (ख)मा उम्मेदवारी थिएन । काठमाडौँ क्षेत्र नं. ३ (क)मा माओवादीको उम्मेदवारी थियो तर पराजित भए । काठमाडौँ क्षेत्र नं. ६ को (क) र (ख)मा उम्मेदवारी भए पनि पराजित भए । काठमाडौँ क्षेत्र नं. १० (क) र (ख)मा उम्मेदवारी थियो तर पराजित भए ।
आउँदो पुस अन्तिम सातादेखि आयोजना हुने चितवन महोत्सवका लागि स्थल सम्याउने क्रममा सङ्कलित प्लास्टिक नारायणी नदी किनारमा विसर्जन गरिएको छ। वर्षामा नारायणीको बाढीले बनाएको खाल्डोमा यस पटक करिब डेढ सय ट्याक्टर प्लास्टिकजन्य फोहोर फालिएको छ। फोहोर फ्याँक्दै माथिबाट ढुङ्गाले थिचेर माटोले पुरी मैदान सम्याइएको हो। उसो त भरतपुर महानगरपालिकाभित्र मात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ। यसरी निस्केको फोहोरलाई नारायणी नदी किनारसँगै रहेको वन क्षेत्रमा नियमित फालिँदै आएको छ।
मोरोक्को र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।