• १५ असार २०८१, शनिबार

महोत्सव स्थल सम्याउन प्लास्टिकजन्य फोहोर प्रयोग

blog

वसन्त पराजुली 

भरतपुर (चितवन), मङ्सिर १६ गते । पुस अन्तिम साताबाट आयोजना हुने चितवन महोत्सव आयोजना हुने स्थल सम्याउन प्लास्टिकजन्य फोहोर प्रयोगमा ल्याइएको छ । नारायणी नदीले वर्षातमा पारेको खाल्टो पुर्न प्लाष्टिक जन्य फोहोर प्रयोग गरिएको हो । जसले नदी किनारमा विसर्जन गरिएको फोहोरले मानव जीवन र जलचर तथा वन्यजन्तुमा असर पर्ने भन्दै संरक्षणकर्मीहरुले विरोध गरिरहेका छन् । 

वर्षामा नारायणीको बाढीले बनाएको खाल्डोमा यस पटक करिब डेढ सय ट्याक्टर प्लास्टिकजन्य फोहोर फालिएको छ। फोहोर फ्याँक्दै माथिबाट ढुङ्गाले थिचेर माटोले पुरी मैदान सम्याइएको हो। उसो त भरतपुर महानगरपालिकाभित्र मात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ। यसरी निस्केको फोहोरलाई नारायणी नदी किनारसँगै रहेको वन क्षेत्रमा नियमित फालिँदै आएको छ। 

नारायणी नदीले कटान गरी खाल्डो बनाएको ठाउँ पुर्ने गरी विसर्जन गरिएको प्लास्टिकजन्य फोहोरले नदीका जलचर एवं नदीसँगै रहेको चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा गम्भीर प्रभाव पार्ने बताइएको छ। सरसफाइका क्षेत्रमा स्वतन्त्र अभियान चलाइरहनुभएका अभियन्ता सागर कार्कीले फोहोर व्यवस्थापनमा भरतपुर महानगर गैरजिम्मेवार हुँदा जलचरसँगै नदीमा स्नान गर्ने सर्वसाधारणमा समेत प्रभाव परेको गुनासो गर्नुभयो। “सात वर्षदेखि नदी किनारमै रहेको बीपी नगरवनमा विसर्जन गरिएको फोहोरले वन्यजन्तु र जलचरमा असर परेको छ। अहिले त झन् नियमित रूपमा भक्तजनले स्नान गर्ने ठाउँमै फोहोर विसर्जन गरिएको छ, यो गम्भीर त्रुटि हो,” उहाँले भन्नुभयो।  

चितवन महोत्सवस्थल सम्याउने नाममा धार्मिक तथा प्राकृतिक रूपमा महìव राख्ने संरक्षित नदीमा असर गर्न नहुने उहाँको तर्क छ। “नारायणी प्राकृतिक र धार्मिक रूपमा महत्वपूर्ण नदी हो। यो नदीको सय मिटर परिधिभित्र फोहोर फाल्न नपाउने कानुनी व्यवस्थाको पनि उल्लङ्घन भएको छ,” उहाँको आरोप छ। 

नारायणी र राप्ती नदी सरसफाइ अभियानका अपिल घिमिरे कास्कीको पोखरा महानगरको फोहोर सेती नदी किनारमा, तनहुँको व्यास नगरपालिकाको फोहोर मादी नदी किनारमा र इच्छाकामना गाउँपालिकाको फोहोर त्रिशूली नदी किनारमा विसर्जन हुँदै आएको र त्यो फोहोर कुनै न कुनै रूपमा नारायणी नदीसम्म आएर असर गरेको बताउनुहुन्छ।  

“प्रायः स्थानीय तहको फोहोर नदी किनारमै विसर्जन गरिएको छ, यसले नदीको जलसम्पदा र जैविक विविधतामै प्रभाव परेको छ,” लामो समयदेखि निकुञ्ज वरपरका विभिन्न नदी सरसफाइ अभियानमा जुट्नुभएका अभियन्ता घिमिरे भन्नुहुन्छ, “अहिले नदीमा बढेको प्रदूषण र जलचरमा परेको प्रभाव पनि यही फोहोरको समस्या हो।”

नदी किनारमा फालिने फोहोर, पानी वा वर्षात्मा बाढी आउँदा नदीमा पुग्ने उहाँको भनाइ छ। पानीको तल्लो भागमा प्लास्टिक जमेर बस्ने र त्यहाँ गोही तथा माछाका लागि आवश्यक लेउ लाग्दा त्यो लेउसँगै प्लास्टिकसमेत माछा तथा गोहीले निल्ने गरेको उहाँको भनाइ छ। नदी सरसफाइ गर्दा विशेष रूपमा प्लास्टिक बोतल, प्लास्टिक, सिसा, फलामका टुक्राजस्ता फोहोर भेटिने गरेको उहाँको अनुभव छ। जलचरविज्ञ वेदबहादुर खड्का नेपालका नदीहरूमा अनुसन्धान नभए पनि भारतमा प्लास्टिकजन्य फोहोरले नदीका जलचरमा परेको प्रभावबारे अध्ययन भएको बताउनुभयो। “एक अध्ययनमा भारतमा मगरगोही र घडियाल गोहीको मृत्युपछि परीक्षण गर्दा पेटमा प्लास्टिक भेटिएको थियो,” उहाँले भन्नुभयो। पानी दूषित हुने र यसले पानीको इकोसिस्टकमै असर गर्ने उहाँको तर्क छ। 

“जहाँ नदी छ त्यहाँ जीव हुन्छ। जहाँ नदी छैन, त्यहाँ जीव पनि छैन। जीवलाई बचाइराख्न पनि नदी प्रदूषण हुनबाट रोकिनुपर्छ तर हाम्रोमा सिधै ढलसमेत ल्याएर नदीमा हाल्ने परम्परा गलत छ,” उहाँले भन्नुभयो। नारायणी नदी र यससँग जोडिएका अन्य शाखा नदीमै ढलसमेत सोझै मिसाइँदा पनि यसको नियन्त्रणमा सरोकारवाला निकायले वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो।

भरतपुर महानगरपलिकाका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले महानगरको फोहोर व्यवस्थापनका लागि नारायणी नदीमा लैजानु राम्रो नभए पनि बाध्यता भएको बताउनुभयो। “अहिले माटो पर्याप्त नपाइने भएका कारण पनि जमिनमुनिको सतहमाथि माटोले पुर्ने गरी ठोस पदार्थ मात्रै राख्नु वातावरणीय रूपमा पनि गलत छैन,” उहाँले भन्नुभयो। तरल र रासायनिक पदार्थ भएमा यसले गम्भीर असर गर्ने तर ठोस पदार्थले कुनै समस्या नहुने उहाँको तर्क छ।

चितवन महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले माटो नपाएपछि वातावरणमा असर नपर्ने गरी फोहोरको व्यवस्थापन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “समस्या नपर्ने गरी हामीले फोहोर विसर्जन गरेर खाल्डो पुरेका हौँ। यसमा केही विवाद भएपछि अहिले वातावरणमा पर्न सक्ने असरका बारेमा अध्ययन गर्न काठमाडौँबाटै विज्ञहरूको टोली बोलाएका छौँ। विज्ञको सुझावका आधारमा अघि बढ्छौँ।”