नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्वन्धित बिभिन्न विधेयकलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
जिल्लाको लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ । नेपाल सरकारले आव २०७९÷०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेकाले सोमबार रातिदेखि लागू हुने गरी ओपिडी र इमर्जेन्सीलगायतका सेवा स्थगित भएको अस्पतालले जनाएको छ ।
प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल पाँच अर्ब १० करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैलाई मन लाग्दैमा सङ्घीयता खारेज नहुने बताउनुभएको छ । विराटनगरमा मंगलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकाले कुनै एक जनालाई चाहना हुँदैमा संघीयता खारेज नहुने बताउनुभएको हो ।
मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । मौसमविद्ले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।
श्रीलङ्काको आर्थिक सङ्कट टार्नका लागि भएको लामो आन्दोलनपछि रिक्त रहेको राष्ट्रपति पदको लागि जुलाई २० तारिख (बुधबार)मा चुनाव हुँदैछ । सो चुनावमा कार्यवहाक राष्ट्रपति रनिल विक्रेमेसिंगेसहित तीनजना प्रतिस्पर्धामा हुनुहुन्छ ।
काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुंगा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।
दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
उत्तरी चीन सीमा जोड्ने २६ किलोमिटर बाह्रबिसे–चीन सीमा सडक बिग्रेको छ । वर्षा, बाढी पहिरोको कारण सो सडकको अवस्था नाजुक बनिरहेको छ ।
कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो ।