• १२ असोज २०८१, शनिबार

सङ्घीयता खारेज हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

गोकुल पराजुली

विराटनगर, साउन ३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैलाई मन लाग्दैमा सङ्घीयता खारेज नहुने बताउनुभएको छ । विराटनगरमा मङ्गलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकाले कुनै एक जनालाई चाहना हुँदैमा सङ्घीयता खारेज नहुने बताउनुभएको हो । 

‘संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमतिभन्दा बाहिर छैनौं,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ‘केही व्यक्तिहरुलाई त्यस्तो लागेर छलफल गरे होलान्, तर त्यस्तो हुँदैन । हाम्रो संविधान संशोधनीय छ तर एउटाले चाहेर मात्र हुने कुरा होइन ।’

सम्पादकहरुसँगको कुराकानीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताका विषयमा बोलेको कुरालाई केही मिडियाले तिललाई पहाड बनाउन खोजेको उहाँको भनाइ छ । ‘त्यो छलफलमा म पनि सँगै थिएँ, त्यहाँ बोलेका विषय सबै मैले सुनेको छु, अब कसले के टिपेर लग्यो हामीले जान्ने कुरा भएन । तर अध्यक्षले त्यस्तो बोल्नुभएको होइन’ पोखरेलले भन्नुभयो ।

अर्को प्रसङ्गमा नेता पोखरेलले गोपनीयताका कारणले एमालेका अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारीको फोटो सार्वजनिक नगरेको प्रष्टीकरण दिनुभएको छ । यतिधेरै विवाद हुँदा पनि गभर्नरले नैतिकता नदेखाएको र एमालेले एम अधिकारीको फोटो किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा नेता पोखरेलले गोपनीयताको प्रसङ्ग उठाउनुभयो ।

‘व्यक्तिले आफ्नो पोजिसन बताएका छन्, सम्बन्धित दलले आफ्नो पोजिशन बताएको छ,’ उहाँले भन्नुभयो, ‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै ?’ उहाँले राज्य सञ्चालनसँग गाँसिएका कुरामा गोपनीयता हुने भएकाले एम.अधिकारीको गोपनियता कायम बताउनुभयो । ‘गोपनीयता हुुँदैन कतिपय राज्य सञ्चालनसँग गाँसिएका कुरामा ?’ उहाँले भन्नुभयो, ‘ राजनीतिक दलहरुभित्र यस्ता कतिपय कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुँदैन नि ।’

नेपाली कांग्रेसको बैठकले आगामी प्रदेश तथा सङ्घीय चुनावमा गठबन्धन बनाउने निर्णय गरेको विषयमा उहाँले एमाले चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताउनुभयो । ‘सके एक्लाएक्लै नसके गठबन्धन बनाएर चुनावमा आउँदा हुन्छ भनेर हामीले भनिआएकै छौं,’ पोखरेलले भन्नुभयो ‘हामी देशव्यापी गठबन्धन गरेर होइन स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर चुनावमा जान्छौं ।’

वाम तालमेल गरेर चुनावमा जाने सम्भावना नभएको पनि उहाँले बताउनुभयो । ‘वाम मोर्चा प्रिय लागेरमात्र भएन । वाम सरकार ढालेर अर्काे सरकार बनाउनेहरू वाम हुन् कि हैनन् भन्ने प्रश्न पनि छ त्यसैले आगामी चुनावमा वाम तालमेल हुने सम्भावना अहिले देख्दिनँ ।’