यादवराज पुरी
रौतहट, माघ १४ गते । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा जिल्लाका अधिकांश अशिक्षित, दलित तथा पिछडावर्गका मतदाताले मतदान शिक्षाको आवश्यकता महसुस गरेका छन् । ती समुदाय तथा वर्गका मतदातासमक्ष चुनावी गतिविधि पुगे पनि मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणाली अनुरूप मतदान गर्ने तरिकाबारे अनभिज्ञता जनाएका छन् ।
जिल्ला शिक्षक महासङ्घका पूर्वअध्यक्ष योगेन्द्रप्रसाद यादव भन्नुहुन्छ, “जिल्लाका डोम, चमार, पासवान, मुसहर समुदायका अधिकांश मतदातालगायत दलित, गरिब र अशिक्षित वर्गमा निर्वाचन शिक्षाको आवश्यकता र मताधिकार बारेमा जानकारी छैन । उनीहरूको सोझोपनको फाइदा उठाउँदै दलगत सहमति गरी बुथमा खटेका स्वयंसेवकले निर्वाचन कर्मचारीलाई मनाएर उनीहरूको नाममा मतपत्रमा छाप लगाउने गर्छन् । यस्तो प्रवृत्तिले पनि ती समुदायका मतदाताले अझैसम्म मतपत्रमा छाप लगाउने व्यावहारिक ज्ञान जानेका छैनन् । त्यस कारण पनि ती वर्गका मतदातालाई मतदान शिक्षा र मताधिकारका बारेमा जानकारी गराउनु वा सुसूचित गराउनु जरुरी छ ।”
गुजरा नगरपालिकाका लक्ष्मीनियाँकी मतदाता सुनिता राम (नाम परिवर्तन) भन्नुहुन्छ, “हामीले त आफैँले कहिल्यै भोट हालेका छैनौँ । हाम्रो भोट जल्छ भनेर गाउँका जान्नेमान्नेले भोट खसाल्ने गर्छन् । हामीलाई छाप लगाउने ठाउँसम्म त साथै लैजान्छन् तर छाप भने उहाँहरूले नै लगाउने गर्छन् । त्यही भएर हामीलाई अहिलेसम्म छाप लगाउन आउँदैन ।” उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश अशिक्षित, गरिब र पिछडावर्गका धेरै महिला अझै पनि मत प्रयोगबारे अनभिज्ञ छन् । मतदान शिक्षा नपाएका मतदाताले मतदान गर्दा मत धेरै बदर हुन सक्छ । आफूले मतदान गर्ने दलको चुनाव चिह्नका बारेमा जानकारी भए पनि मतपत्रमा चिह्न पहिचान गर्न नसक्नु, स्वस्तिक छापको सही प्रयोग गर्न नजान्नु, मतपत्र पट्याउन नजान्नु, स्वस्तिक छापको प्रयोग नगरी औँठा छाप लगाउनु जस्ता व्रिmयाकलापले मत बदर हुने जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासको ठम्याइ छ । उहाँका अनुसार अघिल्लो निर्वाचनमा गाउँ गाउँमा स्वयंसेवक परिचालन गरी मतदान शिक्षा विस्तार गरिएको थियो । शिक्षा प्रभावकारी रूपमा प्रवाह हुन नसकेका कारण मतपत्र बदर हुन गएको हो । आसन्न निर्वाचनका लागि हालसम्म मतदान शिक्षाका बारेमा केन्द्रबाट कुनै जानकारी आएको छैन । यस सम्बन्धमा राजनीतिक दलका नेता तथा कार्यकर्ता बढी संवेदनशील भई मतदान शिक्षा प्रवाह गर्नुपर्ने पनि हुन्छ ।