भक्तपुर, माघ १४ गते । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा २०४८ देखि लगातार चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टीका लागि यस पटक चुनौती थपिएको विश्लेषण भइरहेको छ । सो क्षेत्रमा १६ राजनीतिक दल र नौ जना स्वतन्त्र उम्मेदवार गरी २५ जना उम्मेदवारले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
सो क्षेत्रमा एउटै पार्टीको एकल वर्चस्व रहे पनि यस पटक विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारले नेपाल मजदुर किसान पार्टीलाई चुनौती दिँदै निर्वाचनको मैदानमा होमिएका छन् । भक्तपुर–१ मा २०४८ देखि २०७० सालसम्मको पाँच वटा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी हुनुभएको थियो भने त्यसपछि २०७४ र २०७९ को चुनावमा सो पार्टीका नेता प्रेम सुवाल निर्वाचित हुनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनमा पनि उक्त क्षेत्रमा पुनः नेपाल मजदुर किसान पार्टीले नेता प्रेम सुवाललाई नै उम्मेदवार बनाएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका किरण न्यौपाने, नेकपा (एमाले) का सोमप्रसाद मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रञ्जितले प्रतिस्पर्धा गर्न लागेको भक्तपुर निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जानकारी दिनुभयो । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजू, नेपाल कम्युनिस्ट पार्टी माओवादीको चन्द्रमान कोजू, नेपाल कम्युनिस्ट पार्टी संयुक्तको दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल, आमजनता पार्टी (एकल चुनाव चिह्न) देवेन्द्र ठाकुर चुनावी मैदानमा हुनुहुन्छ । श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, उज्यालो नेपाल पार्टीका रमेश बल्ल, जनता समाजवादी पार्टी नेपालका श्यामसुन्दर शिल्पकार, मितेरी पार्टी नेपालका सावित्री न्यौपाने र नेपाल कम्युनिस्ट पार्टीका हरिराम लबजूले उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा नौ जना स्वतन्त्र रूपमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
भौगोलिक क्षेत्र
भक्तपुर–१ निर्वाचन क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका सबै वडा पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ । गत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको छ । यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले वडा नं. ९ को वडाध्यक्ष मात्रै जितेको छ । अरू वडामा भने नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन् । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरी दोस्रो बन्नुभएको थियो । निर्वाचित सुवालको मतान्तर ३० हजार ७९३ रहेको थियो । राप्रपाका भरतबहादुर खड्काले नौ हजार ३०३ मतसहित तेस्रो हुनुभएको थियो । नेकपा माओवादी केन्द्रका सुनील गोठेले पाँच हजार २८३ मत प्राप्त गर्नुभएको थियो ।