• १४ माघ २०८२, बुधबार

भारत र इयुबिच व्यापार सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १४ गते । भारत र युरोपेली सङ्घ (इयु) बिच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले मङ्गलबार बिहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री मोदीले सम्पन्न भएको यो सम्झौताले विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका र चीनबाट सिर्जित चुनौतीको सामना गर्न भारत र इयु दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“विश्वभरका मानिसले यस सम्झौतालाई सबै सम्झौताको आमाका रूपमा हेरिरहेका छन्,” प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा आयोजित भेटअघि भन्नुभएको थियो । उहाँका अनुसार यो सम्झौताले भारतका एक अर्ब ४० करोड नागरिक र इयुका करोडौँ जनताका लागि नयाँ सम्भावना र अवसरहरू खोल्ने छ । प्रधानमन्त्री मोदीले यो सम्झौताले विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब २५ प्रतिशत र विश्व व्यापारको करिब एकतिहाइ हिस्सा प्रतिनिधित्व गर्ने तथ्य पनि उल्लेख गर्नुभएको थियो । सोमबार भारतको गणतन्त्र दिवस परेडमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका इयुका नेताहरू मङ्गलबार बिहान प्रधानमन्त्री मोदीसँग औपचारिक छलफलमा बस्नुभएको हो । इयुले विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतलाई भविष्यका लागि अत्यन्तै महìवपूर्ण र रणनीतिक बजारका रूपमा लिएको छ ।  

त्यसै गरी नयाँ दिल्लीले इयुलाई आफ्नो तीव्र गतिमा बढ्दै गएको पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा लाखौँ नयाँ रोजगारी सिर्जना गर्न आवश्यक लगानीको प्रमुख स्रोतका रूपमा हेरेको छ । दुवै पक्षबिचको आपसी निर्भरता र विश्वासलाई यो सम्झौताले अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

सन् २०२४ मा भारत र इयुबिच सामानको द्विपक्षीय व्यापार एक खर्ब ३९ अर्ब अमेरिकी डलर पुगेको इयुको तथ्याङ्कले देखाउँछ । यो पछिल्लो एक दशकमा झन्डै ९० प्रतिशतले वृद्धि भएको हो । यसका अतिरिक्त, सेवाहरूको व्यापारमा करिब ६९ अर्ब डलर थप कारोबार भएको छ ।

सम्झौता अनुसार भारतले कपडा, औषधीलगायत क्षेत्रका उत्पादनलाई युरोपेली बजारमा सहज पहुँच दिलाउने सर्तमा कार, वाइन जस्ता प्रमुख युरोपेली उत्पादनका लागि आफ्नो बजार अझ खुला गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष भोन डेर लेयनले इयुले परम्परागत रूपमा संरक्षण गरिएको भारतीय बजारमा अहिलेसम्मकै उच्च स्तरको पहुँच पाउने बताउँदै भारततर्फको युरोपेली निर्यात दोब्बर हुने आशा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार यो सम्झौताबाट इयुले प्रमुख औद्योगिक तथा कृषि वस्तु क्षेत्रमा उल्लेखनीय प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने छ । भारतका लागि भने कपडा, रत्न तथा गहना, छालाजन्य वस्तु साथै सेवा क्षेत्र जस्ता महìवपूर्ण उद्योगलाई ठुलो प्रोत्साहन मिल्ने प्रधानमन्त्री मोदीले स्पष्ट पार्नुभएको छ ।

ब्रसेल्स र नयाँ दिल्ली दुवैले अमेरिकी कर नीति र चिनियाँ निर्यात नियन्त्रणको दबाबबिच नयाँ र भरोसायोग्य बजार खोजिरहेका बेला यो सम्झौता सम्पन्न भएको हो । यससँगै मौसमी कामदार, विद्यार्थी, शोधकर्ता तथा उच्च दक्ष पेसेवरहरूको आवागमन सहज बनाउने अलग सम्झौता र सुरक्षा तथा रक्षा सहकार्यसम्बन्धी समझदारी पनि हुने अपेक्षा गरिएको छ ।

दशकौँसम्म प्रमुख सैन्य उपकरणका लागि मस्कोमा निर्भर रहँदै आएको भारतले हालका वर्षमा आयात विविधीकरण र स्वदेशी उत्पादन बढाउँदै रुसमाथिको निर्भरता घटाउने प्रयास गरिरहेको छ । इयुले पनि अमेरिकासँगको निर्भरतामा यस्तै प्रकारको सन्तुलन खोजिरहेको सन्दर्भमा यो सम्झौता दुवै पक्षका लागि रणनीतिक रूपमा अत्यन्त महìवपूर्ण मानिएको छ ।