कमल शर्मा
दैलेख, माघ १४ गते । काठमाडौँ वसन्तपुरकी ४८ वर्षीय कविता चित्रकारको जीवन २०७९ सालमा अचानक बदलियो । स्तन दुखिरहने समस्याको उपचारका लागि चिकित्सकको परामर्शमा जाँदा तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिइयो ।
उपचारका क्रममा स्तन नै काट्नुपर्ने अवस्था आयो । आठ पटक किमोथेरापी र रेडियोथेरापीपछि अझै उहाँ नियमित उपचारमै हुनुहुन्छ तर उहाँ क्यान्सर रोगसँग हार नमानेर साइकल यात्रामा हुनुहुन्छ ।
साइकल यात्राका क्रममा दैलेख आइपुग्नुभएकी कविताका लागि क्यान्सर नयाँ पीडा होइन । २०७० सालमा आमालाई र त्यसको तीन वर्षपछि दिदीलाई क्यान्सरकै कारण गुमाएको पीडाले उहाँको जीवन निरन्तर सङ्घर्षको कथा बनेको छ तर उहाँले कहिल्यै हिम्मत हार्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “एक दिन सबैको मृत्यु सत्य छ, ‘बोनस’ को जिन्दगी खुसी भएर बाँच्नु पर्छ ।”
उपचारका क्रममा मानसिक स्वास्थ्यमा असर पर्न थालेपछि उहाँका एक हितैषीले उपाय सुझाए, “साइकल चलाऊ, बाहिर निस्क ।” सानै उमेरदेखि साइकल यात्रा मन पराउने कविता चित्रकारले साइकललाई उपचार र हौसला दिने माध्यम बनाउनुभयो । पाइडल घुमाउँदा डर, पीडा र निराशा बिस्तारै पछाडि हट्न थाल्यो । साइकलसँगै उहाँको जीवनमा नयाँ ऊर्जा जाग्यो । आज उहाँ केवल आफ्नो जीवनमा मात्र होइन, अन्य क्यान्सरपीडितका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको छ । कविता भन्नुहुन्छ, “साइकल यात्रामार्फत मैले देखाएको साहस हरेक क्यान्सरपीडितका लागि प्रेरणा हो । यो केवल मेरो यात्रा होइन, यो हामी सबैको यात्रा हो । हामीले सक्दो सहयोग गरेर अरूको जीवन उज्यालो बनाउन सक्छौँ ।”
कविता अब केवल व्यक्तिगत साहस देखाउने मात्र होइन, उहाँ र सिन्धुपाल्चोकका हर्क लामाको अगुवाइमा एक टोली नै क्यान्सर पीडितका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य लिएर पाँचथरको चिवाभन्ज्याङबाट बैतडीको झुलाघाटसम्मको साइकल यात्राका क्रममा दैलेख आइपुग्नुभएको छ । क्यान्सर जितेका हर्क लामा भन्नुहुन्छ, “हामीले जितेको साहस र जीवनको अनुभव अरूलाई देखाउन र प्रेरित गर्न आएको हो । यो केवल साइकल यात्रा होइन, मानवता र आशाको अभियान हो ।” टोलीमा आठ जना साइकल यात्री, चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने सदस्यहरू छन् । उनीहरूले प्रत्येक बिसौनीमा स्थानीय विद्यालयमा पुगेर विद्यार्थीलाई क्यान्सरविरुद्ध सचेतना फैलाउने काम गर्दै आएका छन् ।
धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले भन्नुभयो, “यो अभियान केवल आर्थिक सहयोग जुटाउने मात्र होइन, यसले क्यान्सरपीडितलाई आत्मबल, आशा र हौसला दिने काम गर्छ । हामीले अक्षयकोषमार्फत विपन्नलाई निःशुल्क उपचार सेवा दिने छौँ ।” धुलिखेल अस्पतालमै कार्यरत ढाडरोग विशेषज्ञ डा. विकास पराजुलीले क्यान्सरपीडितको उपचार सहयोगार्थ यो साइकल यात्रा सुरु गरिएको बताउनुभयो । धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ मकाजूले पनि अस्पतालले सङ्कलित रकम बराबर सहयोग गर्ने प्रतिबद्धता जनाएपछि बिरामीका लागि कोष स्थापना गर्ने उद्देश्यले आफूहरू हिँडेको बताउनुभयो ।