• १२ असोज २०८१, शनिबार

एक-दुई दिनमै वर्षा हुन्छ : मौसमविद्

blog

काठमाडौं, साउन ३ गते । मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । मौसमविद्ले केही दिन यता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।

मङ्गलबार जल तथा मौसमविज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम अत्यधिक हुनु स्वाभाविक रहेको बताउनुभयो । मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उहाँको भनाइ छ ।
उहाँले मनसुन न्यूनचापीय रेखा एक-दुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताउनुभयो ।

केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने जानकारी दिनुहुँदै उहाँले हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको बताउनुभयो ।

हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो ठाउँमा वर्षा हुनसकेको छैन । उहाँले एक–दुई दिनभित्रै मनसुन ट्रफ विस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताउनुभयो ।

मौसमविद् पोखरेलका अनुसार प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको छ । त्यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको छ ।

उहाँले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसमविज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।