• १३ असार २०८१, बिहिबार

कटहरी गाउँपालिकाको बजेट पाँच करोड घट्यो

blog

हरि कोइराला

उर्लाबारी, असार ७ गते । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ५० करोड ८२ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। पालिकाको दोस्रो गाउँसभा तथा पाँचौ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार बजेट सार्वजनिक गर्नुभएको हो । 

यो बजेट चालु आवको तुलनामा ५ करोड ४८ लाख ९९ हजार १ सय रुपियाँले कमी हो । चालु खर्चतर्फ ११ करोड ६८ लाख ८४ हजार रुपियाँ र पुँजीगत खर्चमा ३८ करोड ३१ लाख ९८ हजार रुपियाँ विनियोजन गरिएको छ । चालु आवमा कटहरी गाउँपालिकाले चालु खर्चमा १० करोड ४७ लाख ६८ हजार विनियोजन गरेको थियो भने पुँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपियाँ विनियोजन गरेको थियो । पालिकाले चालु आवमा विकास खर्च र सञ्चालन खर्च दुबै घटाएको छ । राजश्व बाँडफाँड र समानीकरण अनुदानको रकम घटेर आएकोले बजेटको अङ्क घटेको हो । 

गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आगामी वर्षका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कटहरी गाउँपालिका कृषिमा आधारित पालिका भएकाले नीति तथा कार्यक्रमा कृषिक्षेत्रलाई महत्व दिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा दुई हजार हेक्टर जग्गामा थप सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य सहित विभिन्न वडाहरूमा डिप ट्युबवेल तथा मोटरपम्प जडान गरिने बताउनुभयो । 

कृषिलाई कटहरीको आकर्षण, कृषिमा आधारित पर्यटन भन्ने सोचलाई सार्थक बनाउन कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी उत्पादन बढाइने अध्यक्ष चौधरीले बताउनुभयो । व्यवसायिक तुलसी खेतीको सुरुवात, तोरी पकेट क्षेत्र विस्तार कार्यक्रम, शत प्रतिशत अनुदानमा धानको बिउ वितरण, तरकारी मिनीकिट तथा च्याउ स्पान वितरण, ५० प्रतिशत अनुदानमा हाइव्रिड मकै तथा गहुँको बिउ वितरण जस्ता कृषि उत्पादनमा आधारित कार्यक्रममा पालिकाले जोड दिएको छ । 

कार्यक्रममा बोल्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री गणेशप्रसाद उप्रेतीले जनताको शक्ति स्थानीय सरकार भएकोले गाउँपालिकाले जनचाहनाका विषयलाई बजेटमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीय सरकारलाई जस्तै प्रदेश र सङ्घीय सरकारलाई पनि स्थायी रुपमा काम गर्न दिनुपर्ने बताउँदै स्थायी सरकार बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको धारणा राख्नुभयो ।  

कार्यक्रममा कोशी प्रदेशका  पूर्वमन्त्री जीवन घिमिरे, प्रदेससभाका पूर्व सदस्य विद्यानन्द चौधरी तथा विजय विश्वासलगायतले शुभकामना दिनुभएको थियो ।