• १२ असोज २०८१, शनिबार

नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन्: प्रधानमन्त्री

blog

काठमाडौँ, असार ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । 

शुक्रवार काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाउनुभयो । पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको उहाँले बताउनुभयो । नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बाल्नुपर्ने र पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्म दिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् । त्यस कारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यही बिलकुल होइन । सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरूले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौँ भन्ने ठाउँ दिएको पनि तिनै ठुला पार्टीहरूको त्याग, तपस्या र बलिदान हो ।

इमानदारी यही हुन्छ कि, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरूले लामो सङ्घर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लोकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त ? बिलकुल थिएन । उनीहरूले त पुरानाहरूलाई सम्मान गर्नुपर्ने, तपाईँहरूको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाैँ भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बुडाबुडीलाई त सम्मान पो गर्नुपर्छ । तिनलाई अपमान गर्ने प्रवृत्ति देखा पर्न खोजेको छ, यो प्रतिकात्मक रूपमा मैले भनेको हुँ । यसको सारतत्व वर्गीय नै छ ।’

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताउनुभयो । उहाँले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँ हामी कताकता पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ । त्यो हामीले आत्म समीक्षा गर्नुपर्छ । निराश हुनुहुँदैन । कैयौँ साथीहरूलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ ? पहिलाको जस्तै छ की अर्कै छ की ? बिग्रियो कि, साँच्चै हो कि होइन भन्ने खालले विभिन्न रूपमा तपाईँहरूको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । जीवनको उत्तरार्द्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तरार्द्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन ।

अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरू कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरू, बाहिर र सदनभित्र भएकाहरूलाई पनि संयोजन गर्ने कुरा गरिरहेको छु ।

कहिलेकाहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली काँग्रेस, नेकपा एमालेलाई पनि अरू पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरूभित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नुपरिरहेको छ । मैले गरिरहेको पनि छु ।’ उहाँले बृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको बताउनुभयो ।