• २४ चैत २०८२, मङ्गलबार

अकबरे खुर्सानी खेतीमा किसानलाई सहयोग

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अकबरे खुर्सानीको खेती गर्न किसानलाई सहयोग गर्ने भएको छ । अकबरे खुर्सानीको प्रवर्धन गर्ने योजना अन्तर्गत गाउँपालिकाले स्थानीय किसानलाई सहयोग गर्ने भएको हो ।

गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार कृषिबाहेक अन्य कुनै आय आर्जनको स्रोत नभएका अति विपन्नलाई अकबरे खुर्सानी खेतीका लागि सहयोग गरिने भएको हो । विशेषगरी विपन्न एकल महिला, हिंसा पीडित, भूमिहीन, सीमान्तकृत तथा दलित समुदायका महिलालाई लक्षित गरी अकबरे खुर्सानी प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको गोम्देनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न लक्षित किसानबाट प्रस्ताव आह्वान गरिएको छ । किसानले पेस गरेका प्रस्तावमध्ये छनोट भएकालाई अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रमा समावेश गरिने गाउँपालिकाले जनाएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सशर्त अनुदानको रूपमा प्राप्त नौ लाख रुपियाँ बजेटबाट कार्यक्रम कार्यान्वयन गर्न लागेको पनि गाउँपालिकाले जनाएको छ । अकबरे खेतीका लागि छनोट हुने किसानलाई खेतीसम्बन्धी तालिमसहित प्राविधिक सहयोग गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनले जानकारी दिनुभयो ।

यता अकबरे खुर्सानी प्रवर्धन कार्यक्रममार्फत विपन्न किसानलाई गरिने सहयोगले उनीहरूको जीविकोपार्जनका लागि टेवा पुग्ने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । 

अध्यक्ष वनेमका अनुसार अकबरे खुर्सानी प्रवर्धनसहित यस अघिदेखि नै पालिकाले कृषि, पशुपालन लगायतका किसान लक्षित विविध कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको छ ।