कवि तथा कथाकार अभय श्रेष्ठले आफ्नो कविता कृति ‘लहना र तीर’ का लागि प्राप्त साहित्य सङ्गम मकवानपुर कृति सम्मानको रकम पातञ्जल योग समिति (पायोस) नेपाललाई प्रदान गर्नुभएको छ । भक्तपुरको गुन्डुमा शनिबार आयोजित गुन्डु योग साधना केन्द्रको सातौँ वार्षिकोत्सव कार्यक्रममा श्रेष्ठले सम्मानबापत् प्राप्त २५ हजार रुपियाँ पायोस नेपालका अध्यक्ष बालमुकुन्द सुवाल, वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेलगायतको उपस्थितिमा कोषाध्यक्ष गीताप्रसाद नेपाललाई हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुल १३७.९२ करोड रुपियाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको १२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले कम्पनीको विभिन्न निर्जीवन बिमा व्यवसायबाट प्राप्त खुद बिमा शुल्क, पुनर्बिमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधार भएको बताउनुभयो ।
विदेशबाट आयात हुने वस्तुमा नेपाल गुणस्तर अनिवार्य गर्ने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जुनियर चेम्बर इन्टरनेसनल (जेसिआई) को आयोजनामा काठमाडौँमा साउथ एसिया बिजनेस एन्ड इन्भेस्टमेन्ट मिट २०२५ सम्पन्न भएको छ ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन लेखनमा भएको त्रुटि सम्बन्धमा छानबिन गर्न गठित विशेष समिति सदस्यसँग प्रमुख सत्तारूढ दुई दलले छलफल गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले समितिमा प्रतिनिधित्व गर्ने आफ्ना सदस्यसँग छलफल गरेका हुन् । समिति सभापति जीवन परियार पनि उक्त छलफलमा सहभागी हुनुभएको थियो ।
सरकारले कुष्ठरोग निवारण घोषणा १५ वर्ष पुगेको छ भने सन् २०३० सम्म कुष्ठ रोगलाई शून्यमा पुर्याउने लक्ष्य लिएको छ । स्याङ्जामा भने आर्थिक वर्ष २०८१/०८२ मा आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले माओवादी पार्टीलाई विभाजन गर्न षड्यन्त्र भइरहेको चर्चा गर्नुभयो । पार्टी विभाजन गर्न खोज्ने प्रतिक्रियावादीसँग अन्तिम लडाइँ लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता आवश्यक रहेको उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।
राहदानी विभागले दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छाप्ने भएको छ । विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो ।
पुरुषले बहुविवाह गर्न पाउने गरी मुलुकी अपराधसंहिताको व्यवस्था संशोधन गर्न लागेको भन्दै सरकारको आलोचना भइरहेको छ । अपराधसंहिताको दफा १७५ संशोधन गरी उक्त व्यवस्था गर्न लागिएको भन्दै सरोकारवालाले बताए पनि मन्त्रीपरिषद्मा विचाराधीन विधेयकको मसौदा भने फरक रहेको पाइएको छ । कानुनमन्त्री अजयकुमार चौरसियाले कसुर यथावत् राखेर निश्चित परिस्थितिमा विवाह बदर नहुने व्यवस्था थप गर्न लागिएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गर्नुभएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनले पदमराज लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
खेतबाट घर फर्किन लाग्दा खोलाले बगाएर आइतबार बेलुकी एक पुरुषको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।
राप्ती राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार बेलुकी ७ बजेदेखि अवरुद्ध भएको हो ।