हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
नेपाली चियाको समर्थन मूल्य तोक्न किसानले आग्रह गरेका छन् । चिया रोप्न थालेको करिब १६२ वर्ष पुग्दा पनि अहिलेसम्म सरकारीस्तरबाट नेपाली चियाको न्यूनतम समर्थन मूल्य तोकिएको छैन ।
जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखाले शुक्रबारदेखि सेवा पुनः सुरु गरेको छ । जलेर पूर्ण रूपमा नष्ट भएको भाटभटेनीलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरेका छौँ,” उहाँले थप्नुभयो, “नयाँ सेवा सुरु हुँदै गर्दा विगतको भन्दा पनि परिष्कृत भएर सेवा दिने प्रण गरेका छौँ ।” यो शाखामा मात्रै झन्डै एक अर्ब रुपियाँ बराबरका क्षति भएको पनि उहाँले जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ई. पेन्सन प्रमाणीकरण प्रणाली सुरुवात गर्नुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गर्नुभएको हो ।
एसियाली विकास बैङ्क (एडिबी) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो गत वर्ष २०२५ को ४.६ प्रतिशतभन्दा न्यून हो । एडिबीको एसियाली विकास परिदृश्य, अप्रिल २०२६ मा त्यस्तो प्रक्षेपण गरिएको हो । ‘गत वर्षको नागरिक अशान्तिलगायत राजनीतिक अनिश्चितता एवं पश्चिम एसियामा जारी द्वन्द्वको प्रतिकूलताका कारण सन् २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने’ नेपालका लागि एसियाली विकास बैङ्कका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मन्त्री चौधरीसँग गर्नुभएको शिष्टाचार भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।
यस वर्षको वसन्तयाममा सगरमाथालगायतका हिमाल आरोहणका गर्न नेपालसहित ६४ देशका ५४४ पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित २३ वटा हिमाल आरोहण गर्न ६९ समूहका ५४४ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा १४१ महिला र ४०३ जना पुरुष छन् । वसन्तयाममा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि यस वर्ष ४३ जना महिला र १६१ पुरुष गरी २०४ जनाले अनुमति लिएका छन् । यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ४१ देशका आरोही आरोहणको तयारीमा रहेको विभागले जनाएको छ ।
प्रतिनिधि सभाको नियमावली तर्जुमा प्रक्रिया जारी रहेकै अवस्थामा विषयगत समिति गठन भएका छन् । प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार नै समिति गठन भएका हुन् । विषयगत समिति १० वटा रहेका छन् । नियमावली संशोधनको प्रक्रिया भने जारी छ । यसअघिकै व्यवस्था अनुसार १० विषयगत समिति गठन भएका हुन् ।
नेपाली मूलधारका सञ्चार माध्यमका सम्पादकले मिडियामा प्रकाशित गर्ने समाचार लैङ्गिक उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महिला (युएन ओमन) बेजिङ ३० लगायत चार संस्थाले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा १० मिडियाका सम्पादकले लैङ्गिकयुक्त समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्गमा तेल ट्याङ्करलाई शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गर्नुभएको छ । ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताउनुभएको अलजजिरा टेलिभिजनले जनाएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रीपरिषद्को चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी सदनमा शुक्रबार दिइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ ।
वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् ।
डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजनाको राष्ट्रिय सञ्चालन समिति (एनएससी) को बैठक शुक्रबार सम्पन्न भएको छ । एनएससीका सहअध्यक्ष नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का नवनिर्वाचित अध्यक्ष निमा लामा ह्योल्मोलाई बधाई तथा निवर्तमान सहअध्यक्ष तथा नेफिनको निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पालाई धन्यवादसहित विदाई गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका फैसला तथा आदेशहरूको प्रभावकारी कार्यान्वयन गर्दै फैसला कार्यान्वयनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।